काठमाडौं- सत्ता साझेदार दल नेपाली कांग्रेसको मंगलबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा बुधबारदेखि केन्द्रीय सदस्यहरुलाई बोल्न दिइएको छ। वर्णानुक्रम अनुसार निश्चित समय छुट्याएर केन्द्रीय सदस्यहरुलाई बैठकमा आफ्नो कुरा राख्न दिइएको हो।
बुधबार बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको कार्यशैलीको आलोचना गरेका छन्। थापा र शर्माले अनुशासन उल्लंघन गरेको भन्दै सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले प्रश्न उठाए। उनले भने, 'केन्द्रीय कार्यसमितिमा भएका मानिसहरूलाई अनुशासन लाग्छ कि लाग्दैन? एउटा केन्द्रीय सदस्य, पदाधिकारी र एउटा जिम्मेवारीमा रहेका मानिसले अर्को जिम्मेवारीमा रहेका मानिसका विषयमा अभिव्यक्त गरेका धारणाहरू व्यक्त गर्दै गर्दा के राम्रो गरेको छ? तथानाम छ, जे पायो त्यही भएको छ।’
पार्टी महामन्त्री थापा र शर्माले सभापति देउवाको सार्वजनिक मञ्चहरुमा निरन्तर आलोचना गर्दै आएका छन्। त्यसमा पनि महामन्त्री थापाले त सभापति देउवालाई सार्वजनिक मञ्चबाट नै राजीनामा माग गर्ने र संसदीय दलको नेताबाट हट्नुपर्ने अभिव्यक्ति दिँदै आएका थिए।
केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले त महामन्त्रीले आफ्नो कार्यशैली सुधार नगरे महामन्त्रीकै विकल्प खोज्नुपर्ने चेतावनी दिएकी छन्। उनले सभापतिलाई कमजोर बनाएर पार्टी बलियो हुन नसक्ने र सँगसँगै हिँडेमात्रै बलियो हुने तर्क गरेकी छन्।
उनले भनिन्, 'महामन्त्रीद्वयले सभापतिसँगै उभिनुपर्छ। पार्टीलाई एक ढिक्का गरेर लैजानका निम्ति सभापतिसँगै उभिनुको विकल्प छैन। हामी तपाईंहरुलाई हरेक गतिविधिको अनुगमन र मूल्यांकन गरिरहेका छौं। कांग्रेस बलियो बनाउने उद्देश्यका साथ र कांग्रेसलाई सबैको नेतृत्व लिने गरी अघि बढ्न महामन्त्रीलाई आग्रह गर्दछु। उनले थपिन्, 'तपाईंहरु पनि हामी सबैको नेतृत्व लिने गरी अघि बढ्नुहोला। नत्र भने जसरी तपाईंहरुले अरु कसैको विकल्प खोज्दै हुनुहुन्छ, भोलि तपाईंहरुको विकल्प पनि हामीले खोज्ने अवस्था नआओस्।'
सभापति संस्था भएको उल्लेख गर्दै उनले संस्थालाई बदनाम बनाउने काम भएकोमा आक्रोश व्यक्त गरेकी छन्। भनिन्, 'सभापति संस्था हो, हिजो कोही सभापति हुनुहुन्थ्यो, आज शेरबहादुर हुनुहुन्छ। भोलि तपाईंहरु उपसभापति, महामन्त्री, सहमहामन्त्री वा केन्द्रीय सदस्यमध्ये कोही हुनुहोला। तर, सभापतिज्यूलाई सर्वथा खराब, अनिर्णयको बन्दी भएको दाबी प्रस्तुत भएको छ, त्यो हास्यास्पद छ।'
निर्णय प्रक्रियामा संलग्न हुने परिणाम स्वीकार नगरी सभापतिलाई दोष दिने प्रवृत्तिले पार्टीलाई फाइदा नहुने पनि उनको तर्क छ। उनले थपिन्, 'हिजो गठबन्धनसहित चुनावमा जाने निर्णयमा आफू संलग्न हुने, चुनाव लड्ने र अनि त्यसको परिणाम सकारात्मक नहुँदा सबै दोष सभापतिलाई लगाइयो। सरकार बनाउने क्रममा ५० थरी वितण्डा खडा गरी सरकारबाट बाहिरिनुपर्यो। यो यथार्थ सबै कार्यकर्ताले बुझेका छन्। पछि सभापति, उपसभापति, पदाधिकारीहरुको राम्रो मुभ भयो र पोल्टाबाट झरेर भुइँमा परेको टिप्दै छ। बलियो कांग्रेस बनाउने अभियानमा लागौं।'
यसैगरी पार्टीका केन्द्रीय सदस्य नैनसिंह महरले केही दिनअघि महामन्त्रीहरूले जिल्ला सभापति भेला गरेर छलफल गरेकोमा आपत्ति जनाए। उनले यसअघि सभापति भएकाहरूले केन्द्रीय समितिलाई वास्ता नगरी जिल्ला सभापति, सचिवको भेला गरेको आफूलाई थाहा नभएको पनि बताए।
‘कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला सभापति हुँदा केन्द्रीय समितिको वास्ता नगरी अवशेष राखेर जिल्ला सभापति भेला भएको मैले सुनेको छैन,’ उनले भने, ‘सचिवहरूको भेला महामन्त्रीको प्रतिवेदनमा छ। केन्द्रीय कार्यालय हामीभन्दा बाहिर हो भने स्पष्ट थाहा पाऊँ।’
त्यसैगरी केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले पनि महामन्त्रीले प्रस्तुत गरेको प्रतिवदेनमा सहिदहरुलाई बिर्सिएकोमा आक्रोश व्यक्त गरे। उनले प्रश्न गरे, 'हाम्रा कांग्रेसका सहिदलाई बिर्सिएका छौं। महामन्त्रीजी (विश्वप्रकाश) तपाईंले होइन ७ सहिदको कुरा गरेको? खोई त तपाईंको प्रतिवेदनमा उहाँहरुको कुरा? ह्वेयर इज इट? तपाईं भोलिको यो देशको कर्णधार हो। सहिदलाई सम्झिनुस्। यो कुरा हेक्का राख्नुस्।' उनले ती सहिद ७ परिवारमध्ये ३ परिवार पहिचान भएको र ४ परिवार पहिचान हुन बाँकी रहेकोले पहिचान गरी एक अक्षर भए पनि कहीँ न कहीँ उहाँहरुको योगदानको सम्मान गर्नुपर्ने उनले बताए।
त्यसैगरी केन्द्रीय सदस्य नृप वडले पनि पार्टीका आन्तरिक फोरमहरुमा छलफल गरेर त्यसका आधारमा कामहरु गर्दा पार्टी बलियो हुने भए पनि पार्टीलाई कमजोर पार्ने काम भएको भन्दै महामन्त्रीको आलोचना गरेका छन्। उनले भने, 'पार्टीका औपचारिक फोरमहरुमा नबोल्ने अनि बाहिर-बाहिर कुरा गर्दा पार्टीलाई फाइदा हुँदैन। त्यसकारण जे कुरा हो, पार्टीमा राखेर त्यहाँ छलफल गर्नुपर्छ।'
केन्द्रीय सदस्य सीतादेवी देवकोटाले बर्सेनि लाखौँ युवाहरू विदेसिने क्रम बढिरहेको भन्दै युवा महामन्त्रीले विदेशिएका युवालाई देशमै रोक्ने योजनासम्म पनि ल्याउन नसकेको भन्दै आलोचना गरिन्। बैठकमा महामन्त्रीहरूलाई लक्षित गर्दै नेता देवकोटाले नेपाली विद्यार्थीले विदेशमा पढ्न जाँदा मात्रै ५०औँ अर्ब रुपैयाँ बाहिरिएको तथ्यलाई बुझ्नु आवश्यक रहेको बताइन्।
'अहिले बर्सेनि एक लाख विद्यार्थी विदेश गइरहेका छन्। जो बाहिरिँदा हरेक वर्ष ५० औँ अर्ब बाहिर गइरहेको छ। ती युवा विद्यार्थीलाई स्वदेशमै रोकेर यो देशको उन्नतिमा श्रम गराउन कांग्रेससँग योजना हुनुपर्छ। महामन्त्रीज्यूहरूलाई म सोध्न चाहन्छु- हाम्रै विद्यालय, कलेजमा पढाएर यी युवा विद्यार्थीलाई देशमै राख्ने योजना कहाँ छ ? महामन्त्रीज्यूले विधानको कार्यान्वयन गर्ने वार्षिक क्यालेन्डर प्रस्तुत गर्नुभयो। तर अवस्था यस्तो छ कि हामीले पार्टीको मात्रै मुहार फेरेर हुनेवाला छैन, देशको मुहार फेर्नु छ, त्यसका लागि पनि कांग्रेसले योजना दिनुपर्छ,' देवकोटाले भनिन्।
केन्द्रीय सदस्य गोविन्दबहादुर शाहले पार्टीमा नेताहरूले दोषजति सबै सभापतिलाई मात्रै थोपरेर टार्ने काम भइरहेको भन्दै आक्रोश व्यक्त गरे। 'कार्यसम्पादन र पदाधिकारीको बैठक गरेर निर्णय गर्ने, धेरै कार्यहरू अधुरा राख्ने, संगठनका सबै अवयवहरू चुस्त दुरुस्त राख्ने कुरामा अनिर्णयको बन्दी बनाउने काम भएको छ,' उनले भने, 'अनि दोष जति सभापतिलाई मात्रै दिएर मुक्त हुन पाइँदैन। आ–आफ्नो काम कर्तव्यप्रति सबैले हेक्का राखौँ। पार्टीले गठबन्धन गर्ने निर्णय लिन्छ, दोषी सभापति। गठबन्धन भत्किन्छ, दोषी सभापति। दोष जति सबै सभापतिको टाउकोमा थोपरेर बाँकी सबै निर्दोष भन्ने हुँदैन कि?'
केन्द्रीय सदस्य रामहरि खतिवडाले पनि महामन्त्रीलाई लक्षित गर्दै पार्टीमा एक अर्कालाई गाली गर्ने पद्धति अन्त्य गर्नुपर्ने बताए। 'हामी एउटाले अर्कोलाई गाली गर्छौँ। गुटलाई प्रश्रय दिन्छौँ। यो पद्धतिलाई अन्त्य गर्नुपर्छ। कसैले सभापतिलाई गाली गर्छन्। यसरी सभापतिलाई गाली गरेर पार्टी दह्रो हुँदैन। एकले अर्कालाई गाली गरेर महान् बन्ने परम्परा अन्त्य हुनुपर्छ।'
केन्द्रीय सदस्य नारायणबहादुर कार्कीले गुट-उपगुटका कारण कांग्रेस विभाजित भएको बताए। महामन्त्रीलाई लक्षित गर्दै कार्कीले भने, 'अहिले एक परम्परा छ- कांग्रेस सक्ने परम्परा। एकथरीका हुलहरुले कांग्रेसको नेतृत्वलाई गालीगलौज गरेर स्तर घटाउन खोजेका छन्। अनि अरु केही काखी बजाएर बसेका छौं। त्यसो नगरौं। आज एउटा नेता सकिँदा भोलि अर्को नेताको पालो आउँछ। त्यो अर्को नेता आउँदा फेरि अर्कोले काखी बजाउने हो भने हामी कांग्रेस के बाँकी रहन्छौं र? त्यसकारण हामी सबै एकजुट भएर अघि बढ्नुपर्छ।'
केन्द्रीय सदस्य जीवन रानाले युवा महामन्त्रीहरुले रुपान्तरणका कुरा गर्ने भए पनि व्यवहारमा लागु नगरेको भन्दै आलोचना गरे। उनले भने, 'यहाँ युवा महामन्त्रीहरु हुनुहुन्छ। उहाँहरुले सधैं रुपान्तरणको कुरा गर्नुहुन्छ। यो रुपान्तरणको कुरा वास्तवमै व्यवहारमा उतार्ने हो कि सतहमा कुरा मात्रै गर्ने हो? यस विषयमा यहाँहरुले सोच्नुपर्छ।'
पार्टी सभापतिलाई मात्रै दोष लगाउने भन्दा पनि आफ्नो जिम्मेवारीलाई सही ढंगले निर्वाह गर्नुपर्ने केन्द्रीय सदस्य रानाको तर्क छ। उनले भने, 'हरेक कुरामा पार्टी सभापतिलाई मात्रै दोष लगाउने अनि आफू पन्छिने गरेको देखिन्छ। पार्टी सभापतिलाई मात्रै दोष लगाउनुको साटो महामन्त्री हुनुहुन्छ, आफू पनि जिम्मेवारी लिने र काम गर्ने गर्नुस्। महामन्त्रीज्यूहरु कहाँ-कहाँ चुक्नु भएको छ, यस विषयमा पनि यहाँहरुले मनन गर्नुपर्यो र आफैं पनि सुध्रिनुपर्यो।'
केन्द्रीय सदस्य शान्तिकुमारी लामाले कांग्रेसमा १४ औं महाधिवेशनबाट सभापतिमा शेरबहादुरदेखि सबै उमेर समूहका मानिसहरु जितेर आएपछि गुटको अन्त्य हुने अपेक्षा गरिए पनि हुन नसकेको भन्दै आक्रोश व्यक्त गरिन्। उनले महामन्त्रीलाई लक्षित गर्दै अहिले सभापतिलाई गरेको विरोधको बाटो नदेखाउन पनि सुझाएकी छन्। उनले भनिन्, 'गुटको नाममा अर्कोलाई खुइल्याउने र पार्टीको भित्री कुराहरु छताछुल्ल पार्ने काम भइरहेको छ। भोलि हामीहरुले पनि त्यही बाटोमा हिँड्न नसिकाइदिनुस्।'
कांग्रेसको जारी बैठकमा पार्टीलाई बलियो बनाउन गुटउपगुट अन्त्य गरी सभापतिसँग मिलेर अघि बढ्न पनि महामन्त्रीहरुलाई केन्द्रीय सदस्यहरुले दबाब दिएका छन्। जारी बैठकमा बुधबार बोल्ने नेताहरूले प्रत्येक केन्द्रीय सदस्यहरू कुनै न कुनै गुटमा आबद्ध रहेर एकअर्कालाई आलोचना गर्ने प्रवृत्ति रहेको स्वीकार गर्दै त्यसको अन्त्य आवश्यक भएको र महामन्त्रीहरु जिम्मेवार बन्नुपर्ने धारणा राखेका हुन्।
केन्द्रीय सदस्यहरुले बिहानदेखि नै पार्टीका नेतालाई गाली गर्दै हिँड्यो भने पार्टी बलियो नबन्ने उल्लेख गरेका छन्। त्यसैगरी बैठकमा केन्द्रीय सदस्यहरुले कोशी प्रदेश सरकारको गठन, पार्टीका भ्रातृ संस्थाको गठन, केन्द्र, प्रदेश र स्थानीय सरकारको काम र उनीहरुसँग पार्टीको समन्वयका विषयहरुमा आफ्नो धारणा राखेका छन्। केन्द्रीय सदस्य मानबहादुर नेपालीले धेरै जिल्ला सभापतिहरू केन्द्रमा रहेर गुटउपगुटमा सक्रिय हुँदा जिल्ला तहमा पार्टी सुदृढीकरणमा अवरोध भइरहेको बताए। उनले कतिपय जिल्ला सभापतिहरूको कार्यकाल काठमाडौँ बस्दाबस्दै सकिने गरेको भन्दै नेतृत्वको ध्यानाकर्षण गराए। नेपालीले भने, 'कांग्रेसभित्रको सभ्यतालाई निरन्तरता दिन सक्नु्पर्छ। आजको नेतृत्वपछिको अवस्था कांग्रेस कस्तो होला भन्ने चिन्ता छ।'
केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारीले पार्टी महामन्त्रीद्वयले पार्टीलाई कहीँ कतै आँच आउने काम नगर्न सुझाएकी छन्। उनले भनिन्, 'यी हल गोरु हुन्। नेगेटिभ नमानियोस्। यिनलाई जोत्न सक्यो भने कांग्रेस कहीँ पुग्छ। यी हल गोरुले कांग्रेसलाई कहीँ कतै आँच नआउने गरी काम गर्नुस्। तपाईंलाई महामन्त्री हामीले बनाएको हो। तपाईंजस्ता संघर्षशील मानिस तमाम छन्। हामी पनि हो। तपाईंहरुबाट सिक्ने पछाडि हामी छौं, यस कुरालाई ध्यान दिन पनि अनुरोध गरेँ।'
त्यसैगरी पार्टी सभापति देउवाले पुसमा गुमेको सरकार फर्काएको र पार्टीमा नयाँ उत्साह थपेको भन्दै नेताहरुले प्रशंसा गरेका छन्। पार्टीको बैठक लाइभ गराएकोमा पनि सभापति देउवाको प्रशंसा गरिएको छ। बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ। बिहीबारको बैठकमा पनि केन्द्रीय सदस्यहरुको बोल्ने क्रम जारी रहनेछ।