काठमाडौं- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले पार्टीका महामन्त्रीहरु गगनकुमार थापा र विश्वप्रकाश शर्मा सभापति शेरबहादुर देउवासँगै उभिनुको विकल्प नभएको बताएकी छन्।
पार्टी मुख्यालय सानेपामा मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा बोल्दै केन्द्रीय सदस्य खतिवडाले महामन्त्रीहरुले सभापतिलाई कमजोर बनाएर आफू बलियो हुन नसक्ने र सँगसँगै हिँडेमात्रै बलियो हुने बताएकी छन्।
उनले भनिन्, 'महामन्त्रीद्वयले सभापतिसँगै उभिनुपर्छ। पार्टीलाई एक ढिक्का गरेर लैजानका निम्ति सभापतिसँगै उभिनुको विकल्प छैन। हामी तपाईंहरुलाई हरेक गतिविधिको अनुगमन र मूल्यांकन गरिरहेका छौं।'
उनले पार्टी बलियो बनाउने हकमा आफूहरु पनि महामन्त्रीसँगै हुने पनि बताएकी छन्। उनले कांग्रेस बलियो बनाउने उद्देश्यका साथ र कांग्रेसलाई सबैको नेतृत्व लिने गरी अघि बढ्न पनि महामन्त्रीलाई सुझाएकी छन्।
उनले भनिन्,'तपाईंहरु पनि हामी सबैको नेतृत्व लिने गरी अघि बढ्नुहोला। नत्र भने जसरी तपाईंहरुले अरु कसैको विकल्प खोज्दै हुनुहुन्छ, भोलि तपाईंहरुको विकल्प पनि हामीले खोज्ने अवस्था नआओस्।'
सभापति एक संस्था भएको उल्लेख गर्दै संस्थालाई बद्नाम बनाउने काम भएकोप्रति उनले आक्रोश व्यक्त गरेकी छन्। भनिन्, 'सभापति संस्था हो, हिजो कोही सभापति हुनुहुन्थ्यो, आज शेरबहादुर हुनुहुन्छ। भोलि तपाईंहरु उपसभापति, महामन्त्री, सहमहामन्त्री वा केन्द्रीय सदस्यमध्ये कोही हुनुहोला। तर, सभापतिज्यूलाई सर्वथा खराब, अनिर्णयको बन्दी भएको दाबी प्रस्तुत भएको छ, त्यो हास्यास्पद छ।'
उनले निर्णय प्रक्रियामा संलग्न हुने परिणाम स्वीकार नगरी सभापतिलाई दोष दिने प्रवृत्तिले पार्टीलाई फाइदा नहुने पनि उनको तर्क छ। भनिन्, 'हिजो गठबन्धनसहित चुनावमा जाने निर्णयमा आफू संलग्न हुने, चुनाव लड्ने र अनि त्यसको परिणाम सकारात्मक नहुँदा सबै दोष सभापतिलाई लगाइयो। सरकार बनाउने क्रममा ५० थरी वितण्डा खडा गरी सरकारबाट बाहिरिनुपर्यो। यो यथार्थ सबै कार्यकर्ताले बुझेका छन्। पछि सभापति, उपसभापति, पदाधिकारीहरुको राम्रो मुभ भयो र पोल्टाबाट झरेर भुइँमा परेको टिप्दै छ। बलियो कांग्रेस बनाउने अभियानमा लागौं।'
उनले कांग्रेस विधि विधान र पद्धतीमा चल्ने पार्टी भएकोले फरक विचार समूहको हुँदैमा कुनै अमुक व्यक्तिमाथि खनिनु पनि आवश्यक नभएको पनि उनले बताएकी छन्। उनले थपिन्, 'कांग्रेस भ्रष्टाचाररहित समाजको परिकल्पना गर्ने पार्टी हो। कांग्रेस कानुनी शासन र न्यायिक सर्वोच्चता मान्छ। तर, कांग्रेसको एउटा नेतामाथि कुनै अभियोग लाग्दैमा कांग्रेसका केन्द्रीय सदस्यहरु, नेताहरु गृहमन्त्रीसमक्ष धन्यवाद दिन पुग्नुहुन्छ। किन पुग्नभयो था छैन।'
फरक गुटको हुँदैमा खुइल्याउँछु भन्ने प्रवृत्तिले कांग्रेसलाई नै कमजोर बनाउँछ। उनले तीनै तहको सरकारलाई जिम्मेवार बनाउनुपर्नेछ र केन्द्रमा बलियो साझेदारको रुपमा सहभागी भएको अवस्थामा सकारात्मक काम गर्नुपर्ने पनि उनले बताएकी छन्।
त्यसैगरी बैठकमा प्रस्तुत गरिएको वार्षिक क्यालेन्डरमा केही समयअघि दिवंगत भएकी महिला नेतृ स्व. मिना पाण्डेलाई समेटेर कार्यक्रम ल्याउन पनि केन्द्रीय सदस्य खतिवडाले माग गरेकी छन्।