काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी शनिबार इटाली भ्रमणमा जाने भएका छन्। बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको इटाली भ्रमण स्वीकृत गरेको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले बताएकी हुन्।
मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री शर्माले संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीमा आयोजना हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डल इटाली जान लागेको जानकारी दिइन्। भ्रमण दलमा प्रधानमन्त्री प्रचण्डसँगै कृषि तथा पशुपक्षी विकासमन्त्री वेदुराम भुसाल पनि रहनेछन्।
यस्तै, मन्त्रिपरिषद् बैठकले कम्पनी दर्ता पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुरमा छुट दिने निर्णय गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा कम्पनी दर्ता पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट तथा परिमार्जन गर्ने सूचना प्रकाशित गर्ने निर्णय भएको मन्त्री शर्माले बताइन्।
बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समिति सदस्यमा डा. रवि मल्ललाई नियुक्ति गर्ने निर्णय गरेको छ। मल्ल सोही अस्पतालमा कार्यरत छन्।