आइतबार, वैशाख २७, २०८३

मतदाता अद्यावधिकको अधिकार स्थानीय तहलाई प्रत्यायोजन गरिँदै

मतदाता नामावली संकलन, अद्यावधिक, मतदान स्थल, केन्द्र व्यवस्थापन, निर्वाचन र मतदाता शिक्षालगायतका सबै काम स्थानीय तहलाई सुम्पिइन लागेको हो।
 |  बुधबार, साउन ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३, २०८०

काठमाडौं– मतदाता अद्यावधिकको अधिकार स्थानीय तहलाई प्रत्यायोजन गर्ने तयारी भइरहेको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन्।

National life

मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्य, मतदान स्थल र केन्द्र व्यवस्थापन, निर्वाचन र मतदाता शिक्षा प्रदान गर्ने कार्य तथा निर्वाचन सामग्री व्यवस्थापनबारे स्थानीय तहलाई अधिकार प्रत्यायोजनबारे आवश्यक तयारी भइरहेको उनले जानकारी दिएका हुन्।

जिल्ला निर्वाचन कार्यालय भक्तपुरले आयोजना गरेको ‘निर्वाचन व्यवस्थापनमा स्थानीय तहसँगको समन्वय र सहकार्य’ विषयक अन्तक्र्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोग ऐन, २०७३ संशोधन गरी सो व्यवस्था गर्न लागिएको बताए। 

‘निर्वाचन आयोग ऐन–२०७३ संशोधनको क्रममा रहेको छ। स्थानीय तहको सहमतिमा मात्र यो ऐन संशोधन गरी मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्य, मतदानस्थल र केन्द्र व्यवस्थापन, निर्वाचन र मतदाता शिक्षा प्रदान गर्ने कार्य तथा निर्वाचन सामग्री व्यवस्थापनबारे स्थानीय तहलाई अधिकार प्रत्यायोजन गर्ने तयारी छ’, उनले भने।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मतदाता नामावली संकलन र मतदानस्थल व्यवस्थापनलगायत अधिकार स्थानीय तहलाई दिनु स्वागतयोग्य भएको उल्लेख गर्दै जनप्रतिनिधि र सम्बन्धित पदाधिकारीका लागि निर्वाचनसम्बन्धी तालिम सञ्चालन गर्नुपर्ने सुझाव दिए।

निर्वाचन आयोग स्वायत्त र स्वतन्त्र ढंगले अगाडि बढ्नुपर्ने धारणा राख्दै प्रमुख प्रजापतिले आयोग नियन्त्रित हिसाबले सञ्चालन हुन नहुने र कार्य सञ्चालनका लागि पर्याप्त बजेट छुट्याउनुपर्ने धारणा राखे।

सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता तिम्सिना भट्टराईले बसाइँसराइ भएका र नभएका मतदाताको मतदाता नामावलीमा नाम समावेश गर्नेबारे भएको अन्योल प्रस्ट पार्न प्रमुख निर्वाचन आयुक्त थपलियासमक्ष आग्रह गरिन्। कार्यक्रममा भक्तपुर जिल्लाका स्थानीय तहका सबै जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधि सहभागी थिए।

सो अवसरमा सहभागी राजनीतिक दलका प्रतिनिधिले मतदाता नामावली संकलन र अद्यावधिक तथा मतदाता र निर्वाचन शिक्षाको लागि स्थानीय तहलाई अधिकार प्रत्यायोजन गर्न उपयुक्त भएको र निर्वाचन व्यवस्थापनसम्बन्धी प्रत्यायोजनको लागि पर्याप्त छलफल गर्नुपर्ने आवश्यकता औँल्याए।–रासस

प्रकाशित: Jul 19, 2023| 10:37 बुधबार, साउन ३, २०८०
प्रतिक्रिया दिनुहोस्