काठमाडौं– नेपाल वायुसेवा निगमले मलेसियाको क्वालालम्पुर–काठमाडौं उडानका क्रममा रहेको ९एन–एकेडब्लू विमानको घटना छानबिन गर्न दुई सदस्यीय छानबिन उपसमिति गठन गरेको छ।
सोमबार बेलुकी ८ बजे १५८ जना यात्रु बोकेर मलेसिया उडेको नेपाल एयरलाइन्सको ९एन–एकेडब्लू विमान मंगलबार काठमाडौं फर्किने बेला ककपिटमा अक्सिजन लेभल कम भएपछि उडान तालिका प्रभावित हुन पुगेको थियो। १७६ यात्रुसहित बिहान ९ः१० बजे क्वालालम्पुरबाट काठमाडौंका लागि उड्ने विमानको तालिका रहे पनि अक्सिजन अभावमा ढिलाइ भएपछि त्यसबारे बुझ्न निगमले छानबिन समिति बनाएको हो।
निर्देशक महेश मरिताको संयोजकत्वमा छानबिन उपसमिति गठन गरिएको निगमले जनाएको छ। समितिमा सदस्य सचिवको रूपमा निगममा निर्देशक पोशक ज्ञवाली रहेको प्रवक्ता रमेश पौडेलले जानकारी दिए।
विमानले आजै बेलुका ३ बजे अक्सिजन जुटाएर क्वालालम्पुरबाट काठमाडौंका लागि उड्ने प्रवक्ता पौडेलको भनाइ छ। चरा ठोक्किएर ग्राउन्डेड भएको एक सातापछि हिजो मात्रै विमान मर्मतपछि मलेसिया उडेको थियो।