काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ। बैठक केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।
विधानअनुसार प्रत्येक दुई महिनामा कम्तीमा एकपटक केन्द्रीय कार्यसमिति बैठक बस्नुपर्ने भए पनि एक वर्षपछि बस्न लागेको हो। हिजो बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले केन्द्रीय कार्यसमिति बैठकका लागि कार्यसूची तय गरेको छ।
बैठकमा समसामयिक राजनीति, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णय अनुमोदनका लागि पेश गर्ने, सांगठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव, नीति अधिवेशनका सम्बन्धमा छलफल गरी मिति र स्थान तय गर्ने, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ।
यसैगरी विभाग गठनसम्बन्धी, पार्टीको राष्ट्रिय अभियान घोषणासम्बन्धी प्रस्ताव, अनुशासन समितिको प्रतिवेदनसम्बन्धी, प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिका, सरकारमा पार्टीको भूमिकाका विषयमा पनि बैठकमा छलफल हुनेछ।
सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रशारण गर्ने प्रस्ताव गरेका छन्। यसबारे फरक फरक धारणा आएको र आज निर्णय हुने बताइएको छ।