काठमाडौं- 'पार्टीमा हामी गुटबन्दी र भागबण्डा केही हुन दिन्नौं, सिंगो कांग्रेस बनाएर चलाउँछौं,' नेपाली कांग्रेसको महामन्त्रीमा विजयी भएपछि २०७८ पुस १९ मा अर्घाखाँचीको पाणिनी गाउँपालिकामा आयोजित पार्टीको कार्यक्रममा गगन थापाले भनेका थिए। विगतमा शेरबहादुर देउवाले तत्कालीन सभापतिहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालासँग भागबण्डा गरेको विषयलाई व्यंग्य गर्दै थापाले आफूहरुले त्यसको अन्त्य गर्ने बताएका थिए।
सभापतिमा अनुभवी शेरबहादुर र महामन्त्रीमा आशा गरेका दुई युवा विजयी भएपछि कांग्रेसजनमा नयाँ उर्जाको सञ्चार भएको थियो। पदाधिकारीमा सबैभन्दा बढी मत ल्याएर विजयी भएका महामन्त्री थापाले गुटबन्दी र भागबण्डा अन्त्य गर्ने बताएसँगै कांग्रेसीहरु थप उत्साहित भएका थिए। उत्साह हुनुको मुख्य कारण विगतमा गुटका नाममा तल्लो तहमा बसेका नेतादेखि सांसद र मन्त्री बन्न नपाएकाहरु पिल्सिएका थिए। र, यो संख्या ठूलो थियो।
गगनलाई भावी प्रधानमन्त्री र पार्टी सभापतिको रुपमा हेरिएको समयमा आएको उनको उक्त अभिव्यक्तिले आशाको सञ्चार गरे पनि यो धेरै टिक्न भने सकेन। उनी महामन्त्रीमा विजयी भएपछि नै गुट निर्माणमा जुटे भने पार्टी सभापतिसँग भाग माग्न थाले। २०७९ वैशाखमा भएको स्थानीय निर्वाचनमा पनि आफूलाई ४० प्रतिशत भाग चाहिएको प्रस्ताव गरे। देउवाले २० प्रतिशत गगनलाई र २० प्रतिशत शेखरलाई दिएपछि देउवाविरुद्ध आक्रामक बने।
२०७९ मंसिरमा भएको आम निर्वाचनमा पनि आफ्नो पक्षका नेताहरुलाई संघ र प्रदेश सांसदको टिकट दिनुपर्ने लविङ गरे थापाले, जसमा पनि आंशिक सफल भए। भागबण्डाको राजनीति अन्त्य गर्छु भन्दै सार्वजनिक मञ्चमा कुर्लिने गगन आफैं भागबण्डाको राजनीतिमा चोबलिएको विषयलाई पार्टीका नेता-कार्यकर्ताहरुले नजिकबाट नियालिरहेका थिए। आम निर्वाचनपछि महामन्त्री थापाले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध संसदीय दलमा उम्मेदवारी दिए। परिणाम उनको पक्षमा आएन।
पुस १० गते माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि देउवाविरुद्ध खनिएका गगनले पछि कांग्रेससँगको गठबन्धनपछि बनेको सरकारमा आफूलाई मन्त्री बनाउने लबिङ गरे। संसदीय दलमा निर्वाचन लडेको पार्टी महामन्त्री नै मन्त्री बन्ने लबिङमा लागेको भन्दै समूहभित्रै आलोचना हुन थालेपछि आफूलाई भनेको मान्छेलाई नै मन्त्री बनाउनुपर्छ भन्दै दबाब सिर्जना गरे।
गगन थापाकै अडानका कारण मन्त्रिपरिषद् समयमा विस्तार हुन सकेन। पार्टी सभापति देउवाले शेखर समूहलाई दुई मन्त्रालय दिने बताएपछि आफूलाई थप एक मन्त्रालय चाहिने अडान थापाले राखेपछि शेखरले पनि मन्त्री पठाउन सकेनन्। अन्तत: देशभर गगन थापाकै अडानका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भन्दै विरोध हुन थालेपछि गगन ब्याक भए र शेखरले धनराज गुरुङ र डिगबहादुर लिम्बुको नाम सिफारिस गरे।
पार्टीको गत वर्ष असारमा बसेको बैठकले कांग्रेसको मेरुदण्ड भनिएका नेपाल विद्यार्थी संघ र तरुण दल दुबैलाई स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले तीन महिनाभित्र केन्द्रीय अधिवेशन गर्न समय दिइएको थियो। तर, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सकिएको सात महिना बितिसक्दा पनि पूर्णता पाउन सकेन। तरुण दल विस्तार गरेर ४०० केन्द्रीय सदस्यीय प्लेन कमिटी ल्याए पनि अझै भागबण्डा नमिलेको भन्दै विरोध हुन थालेपछि संख्या थप गर्ने तयारी भइरहेको छ। त्यसैगरी नेविसंघमा पनि महामन्त्री थापाले आफूलाई ४० प्रतिशत भाग चाहिने माग गरिरहेका छन्।
६ महिनाभित्रै पार्टीका विभाग गठन हुनुपर्ने विषयमा महामन्त्री थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्मा बोलेका छैनन्। उल्टै बनिरहेका विभागमा आफ्ना मान्छेहरु कसरी धेरै भर्ने ध्याउन्नमा महामन्त्री थापा रहेका छन्। पार्टीको प्रचार विभागमा समेत आफूलाई अलग भाग मागेका आफू निकटका मानिसहरुलाई भर्ती गरेका छन्।
सभापति देउवा विधि र पद्धतिअनुसार काम नगरेको र भागबण्डाको राजनीति गरेको भन्दै विरोध गरिरहेका महामन्त्री थापाले 'अवैध' भइसकेको तरुण दल र नेविसंघमा समेत भाग मागिरहेका छन्। यतिमात्र नभएर उनले पार्टी महाधिवेशनबाट निर्वाचित सभापतिको राजीनामा माग गर्नेदेखि संसदीय दलको नेता फेर्नेसम्मका मागहरु गरिरहेका छ्न्। चितवन र तनहुँमा भएको उपनिर्वाचनपछि 'वैचारिक र सैद्धान्तिक' रुपमा ओरालो लागेको टिप्पणी खेपिरहेका थापाले विधि र प्रक्रियाबाट आएका देउवालाई बिदा गर्नुपर्ने माग बारम्बार राखिरहेका छन्।
गगनलाई भावी प्रधानमन्त्री र पार्टी सभापतिको रुपमा हेरिएको समयमा आएको उनको उक्त अभिव्यक्तिले आशाको सञ्चार गरे पनि यो धेरै टिक्न भने सकेन। उनी महामन्त्रीमा विजयी भएपछि नै गुट निर्माणमा जुटे भने पार्टी सभापतिसँग भाग माग्न थाले।
उपनिर्वाचनका क्रममा तनहुँ पुगेर कांग्रेस छोडेर गएका स्वर्णीम वाग्लेविरुद्ध उम्मेदवार बनेका गोविन्द भट्टराईलाई भोट माग्दै 'हरिले देख्छन्' भनेपछि भने गगनको वैचारिक स्खलन सुरु भएको टिप्पणीहरु हुन थालेका हुन्। यससँगै जुन प्रक्रियाबाट निर्वाचित भएर महामन्त्री बनेका गगन सोही प्रक्रियाबाट आएका देउवालाई भने राजीनामा दिनुपर्ने माग गरिरहेका छन्। यससँगै संसदीय दलमा आफू पराजित भएको स्वीकार गर्नसमेत महामन्त्री थापालाई असहज भइरहेको देखिन्छ।
यसमा दुईवटा कारण मुख्य देखिन्छन्। एकातिर महामन्त्री थापालाई विधि-प्रक्रियाभन्दा आफूलाई केन्द्रमा राखेका छन् भने अर्कोतर्फ उनलाई नेतृत्वमा पुग्ने हतारो देखिन्छ। अर्को महाधिवेशनमा आफू आउने-नआउने निश्चित नदेखिएपछि उनलाई अहिले नै नेतृत्व परिवर्तन गरेर आफू नेतृत्वमा पुग्ने हतारमा रहेका छन्।
२०७९ मंसिरमा हुने निर्वाचनअघि कात्तिक २७ गते गगन थापालाई मत माग्दै स्वर्णीम वाग्लेले भनेका थिए, 'गगन थापासँग जुन भिजन छ, टिम छ, हामीहरु जस्ता मान्छे आबद्ध छौं– त्यो अलायन्सले यो देशलाई देखिनेगरी ५ वर्षभित्रमा नै हामीले एउटा मोमेन्टम ल्याउँछौं। आर्थिक समृद्धि, समन्यायिक न्यायका सिद्धान्त र मुख्यतः हामी बिक्दैनौं। हामीलाई कसैले किन्न सक्दैन। हामीलाई कसैले म्यानिपुलेट गर्न सक्दैन। हामी कसैको गोटी बन्दैनौं किनकि हामी आफैं सक्षम छौं। गगन थापा ‘क्वालिफाइड लिडर’ हुन्, हाम्रो पुस्ताको नेतृत्व उनले नै गर्छन्।'
यसरी आफ्नो पुस्ताको नेतृत्व गर्ने देखेका स्वर्णीमले नै पार्टी छोडेर रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरिसकेका छन्। उनले पछिल्लो दिएको अन्तर्वार्ताका क्रममा 'गगनजी त तपाईंलाई क्षेत्र छोड्न तयार हुनु भएको होइन भन्ने प्रश्नमा वाग्लेले भने,'छोडेको भए त म पाउँथें होला नि।' उनले गगनबारे थप टिप्पणी गर्न पनि उपयुक्त ठानेनन्। बरु उनले 'कांग्रेसमा आस्था राख्नेहरुलाई देउवाका खेताला' को संज्ञा दिए।
यसबाट पनि गगनले आफ्नो विश्सनीयता गुमाउँदै गएको देखिन्छ। यसअघि असार १६ गते नेपाली कांग्रेस दोलखा काठमाडौं सम्पर्क समितिको प्रथम काठमाडौं सम्मेलनलाई सम्बोधन गर्दै नेता ताराबहादुर कोइरालाले देउवाले आफू निकटलाई हेरेको भन्दै विरोध गर्ने गगन पनि शेरबहादुरकै बाटोमा लागेको बताएका थिए। गगनको चर्को विरोध गरेका कोइरालाले भने, 'गगनजीको पुस्ताले कहिले रुपान्तरणको नारा दिनुहुन्छ कहिले, कहिले के को नारा दिनुहुन्छ। हामी विश्वास गर्छौं। तर नारा र लेखेरमात्रै पार्टी भित्रको सुधार हुँदैन। शेरबहादुर प्रवृत्तिको अन्त्य हुँदैन। मुलुकको रक्षा पनि हुँदैन।'
पार्टीमा गुटगत राजनीति गर्न गगन समूह पनि पछि नरहेको उल्लेख गर्दै कोइरालाले देउवा र गगनमा केही फरक नरहेको दाबी गरे। 'शेरबहादुरले गुटबन्दी गर्यो भने पैसाको आधारमा राजनीति गर्यो भने तपाईंहरुले भन्नुपर्छ- गुट गर्दिनँ,' कोइरालाले भने, 'तस्कर माफियासँग सम्बन्ध राख्दिनँ भन्नुपर्छ। श्रीमान् गगन थापाज्यु, तपाईं र शेरबहादुरमा हामीले फरक कसरी देख्ने?' गगन होस् या देउवा दुबैले आफ्नो मान्छेलाई टिकट दिने भएकोले कार्यकर्ताले खासै फरक नदेख्ने समेत उनको तर्क रह्यो। 'तपाईंलाई महाधिवशेनमा आफ्ना नजिकका मान्छे केन्द्रीय सदस्य चाहिने, टिकट तपाईंका भरौटेहरुलाई चाहिने, अनि शेरबहादुरलाई पनि त्यही चाहिने, गगन र शेरबहादुरमा हामीले फरक कसरी देख्ने?' कोइरालाले थप प्रश्न गरे।
त्यसैगरी सहमहामन्त्री किशोरसिंह राठोरले देउवाविरुद्ध खरो उत्रिने थापाले नै ‘टिकट भरौटेलाई मात्रै’ दिएको भन्दै आक्रोश व्यक्त गरेका छन्। सहमहामन्त्री राठौरले भने, 'दुई जना महामन्त्रीहरुले सभापतिलाई कन्फिडेन्समा लिएर काम गर्नुपर्नेमा चोकचोकमा बसेर विरोध गर्दै हिँड्ने काममात्रै गरे।’
महामन्त्री थापाले नेतृत्व परिवर्तनको गैरजिम्मेवार तत्काल नेतृत्व परिवर्तन हुने सम्भावना भने छैन। बरु नेतृत्व परिवर्तनको हल्ला चलाएर पार्टीमा थप विवाद सिर्जना गर्ने पार्टीलाई कमजोर बनाउने काम भइरहेको देखिन्छ। जसले, जतिबेला चाहनेबित्तिकै नेतृत्व परिवर्तन हुँदा पार्टीलाई पर्ने दीर्घकालीन असरबारे पनि थापा गम्भीर देखिँदैनन्। विधि र विधानको कुरा गर्ने महामन्त्री थापाको पार्टीले बनाएको विधानले पनि जसलाई जुन समयमा मन लाग्यो, त्यो समयमा नेतृत्व परिवर्तनको छुट पनि दिएको छैन। पार्टीको विधानले नेतृत्व परिवर्तनको निश्चित प्रक्रिया र व्यवस्था तोकेको छ।
सभापति देउवाको विरोध गर्ने महामन्त्री थापाले आफू नै शेरबहादुरको बाटोमा भएको पुष्टि गरेका छन्। उनले यसअघिदेखि संसदीय दलको नेता परिवर्तनको माग गरिरहेका थिए। यसलाई पुष्टि गर्न उनले आफूले शेरबहादुरकै बाटो पछ्याएको दाबी गरेका हुन्। उनले भने, 'सबै कुरा मैले आदरणीय नेता शेरबहादुर देउवाबाटै सिकेको हो। संसदीय दलको नेता बदल्नुपर्छ भन्ने कुरा पार्टी सभापतिबाटै सिकेको हुँ। गिरिजाप्रसाद कोइरालासँग लड्दै गर्दा जसरी शेरबहादुर देउवा थाक्नुभएन, त्यसरी नै लागेको हुँ। सामान्य कुरा हो।'
उनले आफू प्रतिस्पर्धाबाट पराजित भएपछि पार्टीको विधानले तय गरेको समय र विधानबमोजित अघि बढ्नुलपर्ने कुरा बिर्सिएका छन्। उनले भने, 'मैले संसदीय दलको नेतामा प्रतिष्पर्धा गरेको हो। हाम्रो पार्टीको संसदीय दलको विधानले एकपटक प्रतिस्पर्धा गरिसकेपछि फेरि गर्न पाउँदैनस् भनेर भनेको छैन। प्रतिस्पर्धा गर्ने बेलामा मैले आफूलाई योग्य ठानेर नै प्रतिस्पर्धा गरेको हो। यो बीचमा मेरो योग्यता घटेको जस्तो मलाई लाग्दैन।'
उनले आफूले मौका हेरेको पनि बताए। 'मैले साथीहरुसँग सरसल्लाह गर्ने, मौका कुरिराख्ने, कतिबेला मौका आउला भनेर हेरिराख्ने गरेन भने चाहिँ अस्वाभाविक हो। त्यो मैले गर्नैपर्छ।' उनको यस अभिव्यक्तिबाट पनि महामन्त्री थापा पार्टी बन्ने, पार्टीको विधानलाई व्यवहारमा लागु गर्ने, पार्टीको भविष्य बनाउनेभन्दा पनि आफू बन्ने मौका कुरेको पुष्टि हुन्छ।