काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आशन्न केन्द्रीय कार्यसमिति बैठकमा राख्ने विषय र एजेन्डाबारे सुझाव मागेका छन्। उनले सामाजिक सञ्जालमार्फत सुझाव मागेका हुन्।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बस्दैछ। महामन्त्री थापाले उक्त बैठकमा राख्नुपर्ने विषय र एजेन्डाका बारेमा आफ्ना विचार र सुझाव छ छ भने व्यक्तिगत इमेलमा पठाउन अनुरोध गरेका छन्। उनले भनेका छन्, ‘बैठकमा राख्नुपर्ने विषय र एजेन्डाका बारेमा आफ्ना विचार र सुझाव दिन चाहनुहुन्छ भने कृपया मेरो व्यक्तिगत इमेल thapagk@gmail.com अथवा यसै पोस्टको कमेन्टमा राख्नुहुन सम्पूर्ण गाउँ, नगर, टोलमा रही नेपाली कांग्रेस र चारतारे झन्डालाई माया गर्नुहुने कांग्रेसजन र शुभेच्छुकहरूमा आग्रह गर्न चाहन्छु।’
कांग्रेस केन्द्रीय समिति बैठक करिब ११ महिनापछि बस्न लागेको हो। बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको सांगठनिक गतिविधिलगायत विषयमा छलफल हुने कार्यसूची छ। महामन्त्री थापाले विभिन्न जिल्लामा पुग्दा पाएका सुझाव र सल्लाहलाई केन्द्रीय कार्यसमितिमा राख्ने बताएका छन्।