काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पूर्वकर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख र आयुक्तमा लैजान रोक्नुपर्ने बताएका छन्। यो विवादित भएको भन्दै उनले पूर्वकर्मचारीलाई अख्तियारमा लैजान रोक्ने हो भने राजनीतिक संरक्षणमा हुने साँठगाँठको अन्त्य हुने भन्दै यसको भण्डाफोर गर्न आह्वान गरेका छन्।
फेसबुकमा आइतबार बिहान स्टाटस लेख्दै उनले पूर्व घुस्याहा कर्मचारीहरु अख्तियारमा पुग्दा आफ्ना पुराना फाइल दबाउन र सेटिङमा सम्पत्ति कुम्ल्याउन लागिपरेको बताएका छन्। ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त र आयुक्तमा पूर्वकर्मचारी ल्याउने कुरामा पूरै स्वार्थ बाझिँदै आएको देखिएको छ। राजनीतिक शक्ति केन्द्रहरूलाई प्रभावमा पारेर अख्तियारमा पुगेकाहरु त्यहाँ पुगेपछि आफू कर्मचारी हुँदाको हिसाबकिताब मिलाउन, फाइल दबाउन र सेटिङमा सम्पति कुम्ल्याउन मात्र लागेको एकपछि अर्को घटनाक्रमले देखाएको छ,’ उनले भनेका छन्।
उनले यसलाई थप पुष्टि हुने गरी दृष्टान्त केलाउँदै अगाडि लेखेका छन्, ‘आफूलाई बोक्ने राजनीतिक शक्ति केन्द्रको इसारामा प्रयोग हुने, अकूत सम्पत्ति कुम्ल्याउने, आफ्नालाई चोख्याउने गरेको समेत उनीहरुको विवादास्पद गतिविधिले देखाएको छ। नत्र अख्तियारकै पूर्व प्रमुख आयुक्त तथा आयुक्तहरु पनि जेल जाने अवस्था किन आउँथ्यो? विभिन्न प्रभावमा परेर प्रभावशालीहरुलाई उन्मुक्ति दिन नलागेकै हुन्थ्यो भने अख्तियारले उन्मुक्ति दिएका पूर्व तथा बहालवाला कर्मचारी यतिखेर सीआईबीको खोरमासमेत जाकिँदैनथे,’ उनले भनेका छन्।
स्वार्थ बाझिने जान्दाजान्दै अख्तियारमा पुर्याएर पूर्वकर्मचारीलाई अख्तियारकै दुरुपयोग गर्ने लाइसेन्स दिन बन्द गरौं भन्दै शिवाकोटीले आफूलाई र आफ्नालाई बचाउने नाममा राजनीतिक संरक्षणमा हुने यस्ता साँठगाँठको भण्डाफोर गर्न आग्रह गरेका छन्। उनले भ्रष्टाचारमुक्त समाज र सुशासनका लागि सहकार्य गर्न पनि आह्वान गरेका छन्।