काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अहिलेको सत्ता गठबन्धन बलियो भएकाले कसैले चाहँदैमा नढल्ने दाबी गरेका छन्। आज जनकपुर पुगेका मन्त्री ज्वालाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन्।
उनले नेकपा एमालेप्रति लक्षित गर्दै गठबन्धन ढलोस् भनेर धुपबत्ती बाल्दैमा नढल्ने टिप्पणी गरे। उनले प्रतिगमनका विरुद्धमा एकजुट भएर सडकदेखि अदालतसम्म लडेका शक्तिहरू एक ठाउँमा रहेको उल्लेख गर्दै गठबन्धन ढाल्ने सपना नदेख्न एमालेलाई आग्रह गरे। उनले गठबन्धन ढालेर केही पाइहाल्छौं कि भन्ने आश गर्नेहरूलाई आशावादी नबन्न आग्रह गरे।
उनले भने, ‘अहिलेको गठबन्धन बलियो धरातलमा उभिएको छ। यो कसैले ढलोस् भनेर चाहँदैमा, धुपबत्ती गर्दैमा ढल्दैन किनभने यसको ग्राउण्ड छ।’ मन्त्री ज्वालाले समाजवादी मोर्चा सरकार बलियो बनाउने र टिकाइरहने मात्रै नभई गठबन्धनको दीर्घकालीन फाइदाका लागि बनेको बताए। ज्वाला नेकपा एसका नेता हुन्।