काठमाडौं- रमेश सायनको पहिलो उपन्यास अन्तर सार्वजनिक भएको छ। राजधानीको मण्डला थिएटरमा आयोजित कार्यक्रममा ब्लगर लेक्स लिम्बूसहित लेखक सायन र सञ्चारकर्मी रूपेश श्रेष्ठले पुस्तक लोकार्पण गरे।
पुस्तकबारे रुपेश श्रेष्ठसँगको अन्तरसंवादमा लेक्सले आफ्नो भोगाइ र उपन्यासको पात्र ‘शब्द’ को भोगाइ समानान्तर भएको र लैंगिकतालाई अब फरक दृष्टिकोणले हेर्न नहुने बताए। उनले भने, 'मैले २५ वर्ष पुग्दामात्रै म समलिंगी हुँ, म फरक हुँ भनेर परिवारका सदस्यलाई भन्न सकेको थिएँ। तर अब समय र समाजको चेतना फरक भइसक्यो। त्यसैले अब जन्मको प्राकृतिकतालाई नेपाली समाजले स्वीकार्न सक्नुपर्छ।’
नेपाली समाजमा विद्यमान लैंगिक विभेद र त्यसमा पनि समलैंगिकता आजसम्म पनि सर्वस्वीकार्य नरहेको अवस्थामा यसबारे खुलेर बहस हुनुपर्ने र राज्यको नीति निर्माण तहले यो विषयलाई विषयान्तर गर्न नहुने उनले बताए।
लेखक सायनले फरक विषयमा उपन्यास लेख्न निकै चुनौती भए पनि नेपाली समाजमा आजसम्म नलेखिएको विषयमा उपन्यास लेख्न पाएकोमा खुशी व्यक्त गरे। उनले भने, ‘यो विषयमा मैले लेख्न सक्नु नै यो समाजको विषयसँगको मेरो गहिरो साक्षात्कार हो ।’
बुकहिलले प्रकाशन गरेको २५२ पृष्ठको उपन्यासको मूल्य ५५५ रुपैयाँ रहेको छ। सायनका यसअघि ‘भागेर भूगोलभरि’ (कविता संग्रह) र ‘छुटेका अनुहार’ (निबन्ध) प्रकाशित छन्।