NadaNada
बुधबार, भदौ ४, २०८२

कांग्रेसलाई सुदृढ बनाउन देउवाको जोड, नयाँ दलमाथि खनिए महामन्त्री 

 |  शनिबार, असार ३०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असार ३०, २०८०

vianetvianet

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकताबद्ध र सुदृढ तुल्याउन सबै लाग्‍नुपर्ने बताएका छन्। यद्पि महामन्त्रीसहितका युवा नेताहरु भने नयाँ दलमाथि आक्रामकरुपमा प्रस्तुत भएका छन्। 

तमू (गुरुङ) सङ्घ नेपाल बागमती प्रदेश भेलाको उद्घाटन गर्दै सभापति देउवाले कांग्रेसलाई एकताबद्ध र सुदृढ तुल्याउन सबै जातजाति र समुदायको सहयोग र समन्वय आवश्यक रहेको उल्लेख गरे।  उनले संविधानको भावना र मर्मअनुसार पार्टीले समानुपातिक र समावेशीको मुद्दालाई आत्मसात गरिरहेको पनि बताएका छन्। 

पूर्वप्रधानमन्त्री देउवाले भने, 'मुलुकमा राजनीतिक परिवर्तनलगायतका आन्दोलनमा सबै समुदाय र जनजातिको उत्तिकै सहभागिता र योगदान छ, राज्यका संरचना र दलभित्र सबै ठाउँमा समावेशिता आवश्यक छ।'

पार्टी उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सुशासन, आर्थिक समृद्धि र रुपान्तरणको पक्षमा दल र सरकारले काम गरिरहेको बताए। उनले भने, 'मुलुक र जनताको विरुद्धमा रहेको भ्रष्टाचार न्यूनीकरणमा यो वा त्यो भनिने छैन। सुशासन कायम गर्दै जनतालाई सहज र सरलरूपमा सेवा प्रवाहलाई चुस्त तुल्याइने छ, दुई दिनभित्र मिटर ब्याजीसम्बन्धी विधेयक सदनबाट पारित हुन्छ।'

महामन्त्री विश्वप्रकाश शर्माले मातृ पार्टी कांग्रेसलाई सुदृढ तुल्याउँदै राज्यलाई समृद्धिको यात्रामा सक्रियाताका साथ लाग्न सबै जातजाति र समुदायको कर्तव्य हुने धारणा राखे। उनले भने, 'गौतम बुद्ध, सगरमाथा र गोर्खालीको पहिचान बोकेको नेपालमा संसारमै नभएका भाषा, संस्कृति र सभ्यता छ, अब हामी भ्रष्टाचारविरुद्ध र समृद्धिको यात्रामा दृढ भएर जानुपर्छ, त्यसका लागि भ्रष्टाचारलाई निर्मूल गर्ने अठोट गर्नुपर्छ।'

Metro Mart

उनले पुरानो नाता सम्बन्धलाई तोडेर नयाँको नाममा खहरेबाट बिजुली निकाल्न नसकिने टिप्पणी गरे। निरन्तर बगिरहेका नदीहरूबाट नै देशले विद्युत उत्पादन गर्न सक्छ भन्ने कुरा नबिर्सिन नयाँ राजनीतिक दलहरूलाई उनले आग्रह गरे। शर्माले भने, ‘अब पुराना दलका दिन गए, नयाँ आए भन्दै गर्दा तिनीहरूले बिर्सिएका छन् - यो धर्ती पनि पुरानो हो। हाम्रा धर्मशास्त्र, संस्कृतिहरू पनि पुराना हुन्। यो देश आफैंमा पनि पुरानो हो।’

सहमहामन्त्री भीष्मराज आङदम्बेले कांग्रेसलाई अहिलेको उचाइमा पुर्याउन गुरुङ समुदायले खेलेको भूमिका अतुलनीय र अविस्मरणीय रहेको बताए। पूर्वमहामन्त्री कुलबहादुर गुरुङले प्रत्येक समुदायले आफ्नो समुदाय, संस्कृति र सभ्यताको संरक्षण र संवर्द्धन गर्दै देश विकासको अभियानमा जुट्न आवश्यक रहेको धारणा व्यक्त गरे।

पार्टीका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले नेपाल सबै जातजाति, धर्म, समुदाय, संस्कृति, सभ्यता र वेषभूषाका हिसाबले साझा पहिचान बोकेको मुलुक भएको बताए। उनले भने, 'नेपाल जातजाति, संस्कृति र सभ्याताले परिपूर्ण छ। समावेशी मुद्दा उठाउने र कार्यान्वयन गर्ने पहिलो पार्टी कांग्रेस हो। दलभित्रका आन्तरिक जीवनका विषय पार्टीको औपचारिक मञ्चमा मात्रै राख्नु बुद्धिमानी हुन्छ।'

पार्टीका केन्द्रीय सदस्य एवं सहरी विकासमन्त्री सीता गुरुङले जनआन्दोलनका उपलब्धिका रूपमा रहेको गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र समावेशी समानुपातिक प्रतिनिधित्वमार्फत लोकतन्त्र र समृद्धिका लागि गोलबन्द हुन आह्वान गरिन्। उनले भनिन्, 'सङ्गठन सुदृढीकरण गर्ने क्रममा भेला आयोजना गरिएको छ। मुलुकको जातीय, धार्मिक र सांस्कृतिक विविधताको संरक्षण गर्दै  राष्ट्र निर्माणमा सहभागी हुनु आजको आवश्यकता हो।'

केन्द्रीय सदस्य तारामान गुरुङले पार्टी र सङ्गठनको हितका लागि भेलाबाट प्राप्त हुने सुझाव महत्त्वपूर्ण हुने भएकाले कार्यान्वयनका लागि पार्टी नेतृत्वलाई सुझाव दिए। अर्का केन्द्रीय सदस्य राधा घलेले राष्ट्रियता, समावेशी लोकतन्त्र  र समाजवाद मुख्य आदर्श बोकेको कांग्रेसले समावेशी चरित्रलाई बलियो तुल्याउँदै  नेता तथा कार्यकतालाई न्यायोचित जिम्मेवारी र मूल्याङ्कन गर्ने परिपाटीको विकास गर्न सुझाव दिए।

नेपाल लोकतान्त्रिक आदिवासी जानजाति महासङ्घका अध्यक्ष ओमबहादुर घर्ती र सङ्घका अध्यक्ष भुवनसिंह गुरुङले विगतमा मुलुकमा व्याप्त अन्याय, अत्यचार र राजनीतिक परिवर्तनका लागि आदिवासी जनजाति समुदायको ठूलो योगदान रहेकाले समानुपातिक समावेशी सिद्धान्त कार्यान्वयन गर्दै सोहीअनुरुपको जिम्मेवारी दिइनुपर्ने विचार प्रकट गरे।

प्रकाशित: Jul 15, 2023| 19:35 शनिबार, असार ३०, २०८०
प्रतिक्रिया दिनुहोस्