काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी कांग्रेस समावेशी, समानुपातिक, आदिवासी, जनजाति सबैको पार्टी भएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्।
उनले नेपाल आदिवासी, जनजाति, दलित, थारु, मुस्लिम सबैको देश भएको उल्लेख गरे। कांग्रेसमा सबै जनताको सहभागिता आवश्यक रहेकामा उनले जोड दिए।
'यो देश सबैको देश हो। आदिवासी, जनजाति, दलित, थारु, मुस्लिम सबैको देश हो। विशेषगरी नेपालको राजनीतिमा सबैको भूमिका, सबैको सहभागितामा उदार हुनुपर्ने आवश्यकता छ। साथै सबैलाई कुनै न कुनै किसिमले समावेशी, राजनीतिसहित सबै ठाउँमा, हरेक ठाउँमा उहाँहरूको पनि समावेशी हुन आवश्यक छ,' उनले भने।
उनले थपे, 'हाम्रो पार्टी समावेशी, समानुपातिक, आदिवासी, जनजाति सबैको पार्टी हो। हाम्रो पार्टीमा बढीभन्दा बढी आदिवासी जनजातिहरूले सहभागिता, समर्थन मात्रै होइन, पूर्ण रूपले जनता नै, आदिवासी जनजातिका जनता नै पार्टीप्रति प्रतिबद्ध हुनुपर्छ। सबै जनताको सहभागिता आवश्यक छ, पार्टीमा।' सभापति देउवाले सबैलाई सँगै र साथमा लिएर हिँड्न कांग्रेस तयार रहेको बताए।