म्याग्दी- म्याग्दी जिल्लामा चालु आर्थिक वर्ष २०७९-८० मा नौ झोलुङ्गे पुल निर्माण भएको छ। झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप), टिबिएसयु, स्थानीय तह, समुदाय र गैरसरकारी संस्था मिलन म्याग्दीको साझेदारीमा थप नौ वटा झोलुङ्गे पुल निर्माणाधीन छन्। टिभिएसयुमार्फत स्थानीय तहले प्राप्त गर्ने बजेटबाट सामाजिक तथा प्राविधिक सहयोग गर्ने गरी मिलनलाई झोलुङ्गे पुल निर्माण गर्ने जिम्मा दिने गरिएको छ।
मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमायाँ बिटालुका अनुसार निर्माण सकिएका र निर्माणाधिन पुलको कूल लागत रु सात करोड ४३ लाख ९२ हजार आठ सय ९२ रहेको छ। ‘निर्माणाधीन र सम्पन्न भएका पुलबाट पाँच हजार तीन सय २१ घरधुरीका १५ हजार सात सय ४५ जनसङ्ख्या लाभान्वित हुनेछन्’, उनले भने, ‘उपभोक्ता समितिमार्फत पुल निर्माण हुने गरेको छ।’
मालिका गाउँपालिकामा पाँच, रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकामा दुई/दुई वटा पुल निर्माण सकिएका छन्। यसैगरी मालिका, धौलागिरि र अन्नपूर्णमा दुई/दुई, मङ्गला, रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकामा एक-एक वटा पुल निर्माणाधीन छन्।
मालिका गाउँपालिका–५ को सांगाखोलामा १०० मिटर, मालिका–४ सिस्नेरीको भातीखोलामा ५८ मिटर, मालिका–४ को घोर्सीखोलामा ५८ मिटर, मालिका–४ छिपान्जाखोलामा ५८ र मालिका–७ को शिवरात्रिखोलामा ११४ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ।
रघुगङ्गा–१ को ओकिलाखोलामा ४२ मिटर र रघुगङ्गा–८ को रघुगङ्गा खोलामा ९० मिटर लामो पुल निर्माण भएको छ। बेनी नगरपालिका–३ को चिनाखेत खोलामा २८ मिटर र ठुलोखोलामा ३२ मिटर लामो ट्रस प्रविधिको पुल निर्माण भएको छ।
मालिका–४ को दाजुङखोलामा ७० मिटर लामो पुलको ३० प्रतिशत, वडा नम्बर ६ को म्याग्दीखोलामा एक सय १४ मिटर लामो पुलको ८० प्रतिशत, मङ्गला गाउँपालिका–५ को पिपलको म्याग्दी खोलामा ७३ मिटर पुल निर्माणको काम ६५ प्रतिशत सकिएको छ।
अन्नपूर्ण गाउँपालिका–को दोविल्नाखोलामा ६० मिटर र ठुलोखोलाको ६४ मिटर लामो पुलको निर्माण कार्य ६५-६५ प्रतिशत सकिएको छ। रघुगङ्गा गाउँपालिका–८ को कोसेराखोलामा ३२ मिटर र बेनी नगरपालिका–७ को म्याग्दीखोलामा ४६ मिटर, धौलागिरि गाउँपालिका–७ को म्याग्दी खोलामा एक सय एक र वडा नम्बर ४ को खोलाखर्क खोलामा एक सय १२ मिटर लामो पुल निर्माणको काम ३०/३० प्रतिशत सकिएको छ।
झोलुङ्गे पुल निर्माण भएपछि खोलामा जोखिमपूर्ण र घुमाउरो बाटोको यात्रा गर्नुपर्ने बाध्यता हटेको, बाटोको दूरी छोटिएको, स्थानीयवासीका साथै विद्यार्थीलाई पनि सुविधा पुगेको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो। झोलुङ्गे पुलको क्षेत्रमा १८ वर्षदेखि काम गरिरहेको मिलन म्याग्दीको अभिलेखअनुसार जिल्लाभर दुई सय ८३ झोलुङ्गे पुल छन्।