बुधबार, साउन २०, २०८३

भानु पुरस्कार प्राध्यापक कँडेललाई प्रदान

 |  शनिबार, असार ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार ३०, २०८०

काठमाडौं- यस वर्षको भानु पुरस्कार साहित्यकार प्राध्यापक घनश्याम कँडेललाई प्रदान गरिएको छ। दुई सय १० औँ भानुजयन्तीको अवसरमा नेपाली शिक्षा परिषद्ले स्थापना गरेको रु एक लाख २५ हजार नगद राशिको पुरस्कार साहित्यकार प्राध्यापक कँडेललाई शुक्रबार प्रदान  गरिएको हो।

उक्त पुरस्कार नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति एवं वरिष्ठ साहित्यकार गङ्गाप्रसाद उप्रेतीले प्रदान गरे । कार्यक्रममा साहित्यकार उप्रेतीले नेपाली भाषा, साहित्यको विकासमा भानुभक्त आचार्यको ठूलो योगदान रहेको बताए। उनले भानुजयन्तीको महत्वपूर्ण दिनमा यसपटक साहित्यकारलाई भानु पुरस्कार प्रदान गर्न पाउँदा खुसी लागेको बताए।

कार्यक्रममा नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्माले नेपाली भाषा, साहित्य, संस्कृति र अध्यात्म क्षेत्रमा विशेष योगदान पुर्याएका व्यक्तिलाई हरेक वर्ष भानु पुरस्कारबाट सम्मान गर्दै आएको जानकारी दिए। उनले अक्षयकोष स्थापना गरी भानु पुरस्कार स्थापना गर्दै आएको उल्लेख गरे।

विसं २००८ मा स्थापना भएको नेपाल शिक्षा परिषद्ले विसं २०१६ मा नेपालका तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको बाहुलीबाट दरबार हाइस्कुल अगाडि भानुभक्तको प्रतिमा स्थापना गरी हरेक वर्ष भानुजयन्तीमा माल्यार्पण गर्दै आएको परिषद्का सदस्य–सचिव लक्ष्मण थापाले जानकारी दिए।

यसअघि शुक्रबार बिहान परिषद्ले सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा दरबार हाइस्कुल अगाडि भानुभक्तको प्रतिमा माल्यार्पण कार्यक्रम आयोजना गरेको थियो । सो अवसरमा वरिष्ठ साहित्यकार जगमान गुरुङको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित: Jul 15, 2023| 08:56 शनिबार, असार ३०, २०८०
प्रतिक्रिया दिनुहोस्