काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मिटरब्याज सम्बन्धी विधेयक कार्यसूचीमा नराखे सदन चल्न नदिने चेतावनी दिएको छ। शुक्रबार प्रतिनिधिसभाको बैठकमा रास्वपाका सभापति रवि लामिछानेले यस्तो चेतावनी दिएका हुन्। आजको कार्यसूची प्रभावित हुन नदिने उल्लेख गर्दै उनले अर्को प्रतिनिधिसभाको बैठकमा मिटरब्याज सम्बन्धी विधेयक ल्याउन आग्रह गरे।
‘आगामी बैठकमा मिटरब्याज सम्बन्धी विधेयक राखिएन भने राष्ट्रिय स्वतन्त्र पार्टी सदन चल्न नदिने पक्षमा उभिने छ। यसपछि बस्ने बैठकमा यदि कार्यसूचीमा मिटरब्याज पीडितहरुको पक्षमा ल्याउन खोजिएको विधेयकलाई ल्याइएन भने पूर्वसूचना गरिरहेका छौं कि सदन चल्न सक्दैन। जनतालाई रुवाएर त्यसबारे मौन बसेर सदन चल्न सक्दैन,’ उनले भने।
सत्ता पक्षकै केही दलका कारण मिटरब्याज सम्बन्धी विधेयकलाई रोक्न खोजिएको सुनिएको उल्लेख गर्दै उनले विधेयक सदनमा ल्याएपछि को पक्षमा र को विपक्षमा खुल्ने बताए। सरकारले गत वैशाख २० गते मिटरब्याज सम्बन्धी अध्यादेश ल्याएको थियो। उक्त अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक २४ वैशाखमा प्रतिनिधिसभामा पेश भएको थियो।
अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक ६० दिनभित्र पारित गरिसक्नुपर्ने व्यवस्था छ। त्यसअनुसार असार २० गतेसम्ममा प्रतिस्थापन विधेयक पारित गरिसक्नुपर्ने थियो। तर एमाले, रास्वपा र राप्रपाले सदन चल्न नदिएका कारण विधेयक पारित हुन सकेको थिएन। विगतमा सदन चल्न नदिएर मिटरब्याज पीडितको विपक्षमा उभिएको भनी आफूहरुलाई आरोप लगाएको उल्लेख गर्दै रास्वपा सभापति लामिछानेले आफूहरु मिटरब्याज पीडितकै पक्षमा रहेको बताए। सरकारले विधेयक ल्याए १५ दिनभित्र पारित गर्ने गरी फास्ट ट्रयाकमा अगाडि बढाउन आफूहरु तयार रहेको उनले बताए।