काठमाडौं– लगातार तेस्रो दिन मंगलबारसम्म हेर्न नभ्याइने सूचीमा परेको कोसीका नवनियुक्त मुख्यमन्त्री उद्धव थापा नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको फैसलामाथिको छलफल सकिएको छ। न्यायाधीश न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा पेशी चढेको रिटमाथि आज फैसला हुने भएको हो।
गत बिहीबार सभामुख बाबुराम गौतमसहितका गठबन्धन दलका सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएर शुक्रबार सपथ लिएका कोसी प्रदेशका मुख्यमन्त्री थापाको नियुक्ति अवैधानिक भएको दाबीसहित सर्वोच्चमा निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले गत शुक्रबार रिट दायर गरेका थिए।
लगातार तीन दिनसम्म हेर्न नभ्याइने सूचीमा परेको रिटमाथिको सुनुवाइ न्यायाधीश सपना प्रधान मल्लको इजलासबाट हुन लागेको हो। कोसीका निवर्तमान मुख्यमन्त्री कार्कीले शुक्रबार वारेसमार्फत सर्वोच्चमा दर्ता गराएको रिटको आइतबार, सोमबार, मंगलबार पेसी तोकिए पनि हेर्न नभ्याइने सूचीमा पारिएको थियो। मुख्यमन्त्री कार्की एमाले कोसी प्रदेश संसदीय दलका नेता हुन्।
कोसीका निवर्तमान मुख्यमन्त्री कार्कीले नवनिर्वाचित मुख्यमन्त्री थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ, सभामुख बाबुराम गौतमलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका हुुन्।
निवर्तमान मुख्यमन्त्री कार्कीले असंवैधानिक रूपमा नियुक्त भएका मुख्यमन्त्रीको नियुक्ति बदर गरी धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभामा सबैभन्दा ठुलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री बनाइदिन सर्वोच्चसँग परमादेशसमेत माग गरेका छन्।
संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीका लागि दाबी पेस गर्दा सभामुखलाई समेत समावेश गर्नु संविधान विपरीत भएको रिट निवेदकको जिकिर छ। सरकार गठनका लागि चाहिने ४७ सांसद संख्या सभामुखको हस्ताक्षरबाट जोडिएपछि संविधानको धारा १८६ उल्लंघन भएको दाबीसहित आफूलाई पुनः मुख्यमन्त्री माग्दै कार्की सर्वोच्चमा पुगेका हुन्।