काठमाडौं- बुधबारदेखि सुरु हुने भनिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ। प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' की पत्नी सीता दाहालको निधन भएकाले आज बोलाइएको पदाधिकारी र केन्द्रीय समिति बैठक स्थगित भएको महामन्त्री गगन थापाले जानकारी दिए।
बुधबार बिहान ८:३३ बजे उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएकी ६९ वर्षीया दाहालको पशुपति आर्यघाटमा दिउँसो २ बजे दाहसंस्कार गरिने प्रचण्डको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिने छ।
आज स्थगित भएको बैठकलाई कांग्रेसले साउन २ गते बोलाउन तयारी गरेको छ। तर औपचारिक घोषणा हुन भने बाँकी रहेको छ।
एक वर्षपछि बुधबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपा पार्टीको नीति महाधिवेशनका विषयमा छलफल गर्न बैठक बोलाइएको थियो।