बिहीबार, असार ४, २०८३

महाकालीको पानी सुनबरा नदीमा

 |  मंगलबार, असार २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार २६, २०८०

महेन्द्रनगर- राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको मूलनहरमा बगिरहेको महाकाली नदीको पानी शुक्लाफाँटा नगरपालिकास्थित सुनबरा नदीमा छाडिएको छ।

National life

डेढ दशकको अवधिमा यहाँ तेस्रो चरणअन्तर्गत शुक्लाफाँटा नगरपालिका–१० फुलेलीसम्म २८ किलोमिटर मूलनहर तयार भएको छ। महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सिनियर डिभिजनल इञ्जीनीयर शम्भू पण्डितले चार दिनयता नहरमा पानी परीक्षणका रुपमा छाडिएको बताए।

“फुलेलीबाट महाकाली नदीको पानी सुनबरा नदीमा छाडेका छौँ”, उनले भने, “भारतीय पक्षसित परीक्षणका लागि सात दिन पानी दिने सहमति भएको छ।” उनले मूलनहरमा अहिले तीनदेखि चार क्युसेक पानी बगिरहेको बताए।

“मूलनहरमा नियमित छाड्न पहल भए पनि शाखा नहर तयार भइनसकेकाले भारतले पानी दिन आनाकानी गर्दैआएको छ”, पण्डितले भने, “यहाँ अहिले २० र २१ नम्बर शाखा नहर निर्माण भएको छ। मूलनहर अन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको करिब तीन किलोमिटर क्षेत्रमा नहरमा दलदलको समस्या छ।”

पानी परीक्षणका लागि छाड्दा दलदल भएको क्षेत्रको सफाइ गर्न पनि सहज भएको छ। नहर सफा गर्न अझै केही दिन पानी छाड्न भारतीय पक्षसित आग्रह गरिने उनले बताए। महाकाली सन्धिको २८ वर्षपछि ब्रह्मदेव क्षेत्रबाट महाकालीको पानी २८ किलोमिटर पूर्व शुक्लाफाँटा नगरपालिकासम्म पुर्‍याइएको छ।

Shivam cement

गत वर्ष धान दिवसका दिन २२ किलोमिटर मूलनहरसम्म महाकाली नदीको पानी पुर्‍याइएको थियो। आयोजनाअन्तर्गत अहिले २२ किलोमिटर शाखा नहर निर्माण थालिएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव क्षेत्रमा २०६४ सालदेखि थालिएको मूलनहर निर्माणको थप काम अगाडि बढाउन प्रयास भइरहेको छ।

कञ्चनपुरसँगै कैलालीको मालाखेती क्षेत्रको गरी कूल ३३ हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य छ। विसं २०७५ अघिसम्म मुआब्जा विवाद, रुख कटान अनुमति पाउन ढिलाइ, बजेट अभावलगायत समस्या थियो। यहाँ  एक अर्ब बढीको लागतमा २२ शाखा नहर निर्माणको काम अघि बढेको छ। यसैगरी शुक्लाफाँटाको फुलेलीदेखि २० किलोमिटर मूलनहर निर्माणको प्रक्रिया पनि अघि बढाइएको पण्डितले बताए।

प्रकाशित: Jul 11, 2023| 20:41 मंगलबार, असार २६, २०८०
प्रतिक्रिया दिनुहोस्