काठमाडौं–मनाङ एयर दुर्घटनामा ज्यान गुमाएका पाँच जनाको शव काठमाडौं ल्याउने तयारी भइरहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। त्यसका लागि दुई हेलिकोप्टर दुर्घटना स्थलमा पुग्दै छन्।
दुर्घटना स्थलमा अल्टिच्युडका दुई हेलिकोप्टर पुगिसके पनि मौसम अनुकूल नहुँदा शव व्यवस्थापनमा गाह्रो भएको सोलु प्रहरीले बताएको छ। सोलुको लिखुपिके गाउँपालिका–५ स्थित लामजुराडाँडामा मनाङ एयरको हेलिकोप्टर दुर्घटना हुँदा नेपाली पाइलटसहित पाँच जना मेक्सिकन नागरिकको ज्यान गएको छ।
हेलिकोप्टरमा पाइलट चेतबहादुर गुरुङ र पाँच मेक्सिकन नागरिक सवार थिए। दुर्घटनामा परेकामध्ये नेपाली पाइलट र विदेशी सबैको शव पहिचान भएको बताइएको छ। आज बिहान १० बजेतिर सोलुमा मनाङ एयरको कल साइन ९एन–एमभी हेलिकोप्टर दुर्घटनामा परेको थियो।
सोलुको सुर्केबाट काठमाडौं आउँदै गरेको हेलिकोप्टर दिउँसो लिखुपिके गाउँपालिका–५ लामजुराडाँडा नजिक दुर्घटनाग्रस्त अवस्थामा फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक एवं उद्धार समन्वय समिति संयोजक प्रतापबाबु तिवारीले जानकारी दिए।
‘दुर्घटना स्थलमा पाँच जनाको शव देखापरेको प्रहरीबाट जानकारी प्राप्त भएको छ। यात्रु उद्धारका लागि परिचालन गरिएका दुई हेलिकोप्टर मौसम खराबीका कारण दुर्घटना स्थलमा अवतरण गर्न कठिनाइ भएकाले नजिकैको उपयुक्त स्थानमा अवतरण गरी उद्धार गर्ने प्रयास भइरहेको छ’, उनले भने।
काठमाडौंबाट गएका दुई हेलिकोप्टर मौसम खराबीका कारण दुर्घटनास्थलबाट करिब दुई घन्टा दूरीमा अवतरण गरेको उनको भनाइ छ। सोही स्थानमै शव लगेर हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको उनले जानकारी दिए।