काठमाडौं– प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १९ जनालाई पक्राउ गरिएको जनाएको छ। काठमाडौंको चन्द्रागिरि नगरपालिका–१४ नैकापबाट नियन्त्रित लागूऔषध नाइट्राभेट २६८ ट्याब्लेटसहित रामेछापको दोरम्बा गाउँपालिका–७ घर भई हाल न्यूरोड बस्ने २१ वर्षीय सुनिल तामाङसमेत चार जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ। प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीलाई उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको हो।
सिन्धुलीको कमलामाई नगरपालिका–९ भीमानबाट अवैध लागूऔषध गाँजा करिब १५५ केजी र नगद २ लाखसहित मकवानपुर कैलाश गाउँपालिका–१० का ३२ वर्षीय रामसिंह मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भीमानबाट खटिएको टोलीले काठमाडौंबाट महोत्तरीतर्फ जाँदै गरेको बा२०च९८३ नम्बरको गाडी जाँच गर्ने क्रममा गाडीको पछाडि ढालाको तल सेफ बनाई लुकाएर राखिएको गाँजासहित गाडी चालक मोक्तानलाई पक्राउ गरिएको छ।
सुनसरीको धरान उपमहानगर–३ कैलाशपथबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ १४ ग्राम र नगद १ लाख ९६ हजार ५ सय रुपैयाँसहित सोही ठाउँ बस्ने भारत सुपौल घर भएका २७ वर्षीय हिमाल चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले उनलाई लागूऔषध र नगदसहित पक्राउ गरेको हो।
यस्तै, प्रहरीले कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नम्बर ६ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने ४ सय मिलिग्रामसहित टीकापुर नगरपालिका–१ ब्लक नम्बर ७ का २६ वर्षीय शंकर खत्रीलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार झापाको मेचीनगर नगरपालिका–१३ चारआली चोकबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने ६ ग्राम ५ सय मिलिग्रामसहित पाँच जना पक्राउमा परेका छन्।
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–१ का २० वर्षीय विशाल दमाई, २१ वर्षीय गणेश राजवंशी, अर्जुनधारा नगरपालिकाका २७ वर्षीय निकास अधिकारी, मेचीनगर नगरपालिका–७ का १७ वर्षीय किशोर र सोही नगरपालिका–६ का ५५ वर्षीय डम्बरबहादुर तामाङ रहेका छन्। प्रहरी चौकी चारआलीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले मेचीनगर नगरपालिका–१३ फूलबारी टोलका २५ वर्षीय तुलसी राजवंशीलाई अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने ८५० मिलिग्रामसहित पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र प्रहरी चौकी चारआलीबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।
यस्तै, बाँकेको नेपालगञ्ज उपमहानगर–११ बिपीचोकबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने करिब ५ ग्राम ५ सय मिलिग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही उपमहानगर–१६ जयसपुरका २० वर्षीय शाहिल आलम जसगढ र सोही ठाउँका १८ वर्षीय किशोर रहेका छन्। लागूऔषध नियन्त्रण ब्युरो नेपालगञ्जबाट खटिएको प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।
नेपालगञ्ज उपमहानगर–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने करिब १ ग्राम ५ सय मिलिग्रामसहित कोहलपुर नगरपालिका–४ का १९ वर्षीय प्रकाश परियार पक्राउमा परेका छन्। इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई पक्राउ गरेको हो।
रौतहटको गौर नगरपालिका–२ महादेवपट्टीबाट नियन्त्रित लागूऔषध डाइजेपाम ३ सय एम्पुल, फेनारगन ३ सय एम्पुल र नोर्फिन ३ सय एम्पुलसहित गौर नगरपालिका–१ का १२ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी भन्सार सुरक्षा गार्ड र सशस्त्र प्रहरी बलबाट खटिएको संयुक्त टोलीले भारतबाट साइकलमा आउँदै गरेका उनलाई लागूऔषधसहित पक्राउ गरेको हो।
प्रहरीका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने ३ सय ९० मिलिग्रामसहित दुई जनालाई पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा भारत लखिमपुर खिरी थाना गौरीफन्टा ग्राम वनगाउँका २० वर्षीय राज राना र २१ वर्षीय आकाश राना रहेका छन्। इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले राजलाई २१० मिलिग्राम र आकाशलाई १८० मिलिग्रामसहित पक्राउ गरेको हो।