बिहीबार, असार ४, २०८३

बैतडीमा लम्पी स्किन नियन्त्रण बाहिर, नौ हजार पशु मरे

 |  मंगलबार, असार २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार २६, २०८०

बैतडी- बैतडीमा लम्पी स्किन रोग प्रकोपका रूपमा फैलिएको छ। घरपालुवा पशुमा देखिएको यो रोग नियन्त्रणबाहिर गएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनले जनाएको छ।

National life

यो रोग नियन्त्रणबाहिर पुग्दा पनि जिल्लामा हालसम्म खोपको उपलब्धता हुन नसकेको केन्द्रका पशु विकास अधिकृत तथा लम्पी स्किन सम्पर्क व्यक्ति डा. विशाल पाठकले जानकारी दिए।

यो रोगबाट हालसम्म ६४ हजार एक सय ९७ घरपालुवा पशु सङ्क्रमित छन्। उक्त रोगका कारण नौ हजार दुई सय ९८ पशुचौपाया मरिसकेको उनले बताए।

लम्पी स्किनका कारण बाच्छाबाच्छी, गाईगोरु र भैँसी बढी प्रभावित भएका छन्। उनले भने, ‘लम्पी स्किनको सङ्क्रमण दिनप्रतिदिन बढिरहेको भए पनि हालसम्म जिल्लामा खोपको उपलब्धता हुनसकेको छैन। प्रदेश र केन्द्र सरकारलाई खोपको उपलब्धताका लागि अनुरोध गरिसकेका छौँ।’

लम्पी स्किनबाट धमाधम पशुचौपाया मर्न थालेपछि किसान चिन्तित बनेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तले बताए। उनले भने, ‘जिल्लाका ८४ वटै वडामा यो रोग फैलिसकेको छ। लेकाली चिसो हुने गाउँमा कम छ। अन्य गाउँमा महामारीकै रूपमा फैलिएको छ।’

Shivam cement

संक्रमण नियन्त्रणका लागि सामान्य औषधोपचार भइरहेको भए पनि नियन्त्रण हुन नसकेको उनको भनाइ छ। लम्पी स्किनको औषधि नभएका कारण यो रोगबाट प्रभावित पशुको उपचारमा समस्या भएको उनले बताए।

यो रोग नियन्त्रणका लागि सरकारीबाहेकका अन्य दक्ष्य जनशक्ति परिचालन र खोपको व्यवस्था हुनुपर्नेमा पन्तको जोड छ। उनले भने, ‘रोग नियन्त्रणका लागि सरकारी जनशक्तिले पुग्दैन्, अन्य जनशक्ति पनि परिचालन गर्नुपर्छ। साथसाथै खोपको पनि व्यवस्था हुनुपर्ने देखिन्छ।’

बैतडीमा गत मङ्सिरमा पाटनमा केही पशुचौपायामा यसका लक्षण देखापरेको र परीक्षण गर्दा गत फागुनमा यो रोग प्रमाणित भएको थियो। पशुचौपायामा ज्वरो आउने, सिङ्गान तथा र्याल बगाउने, शरीरमा गिर्खा आउने, खुर पाक्नेलगायत लक्षण देखिने गरेको छ।

यो रोग झिङ्गा, लामखुट्टे र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा सङ्सर्गका माध्यमबाट फैलिने भएकाले सचेत रहन सबैमा अपिल गरिएको छ। रोग नियन्त्रण गर्न किसानले भुसुना, किरा र लामखुट्टे नियन्त्रणका लागि गोठको सरसफाइ, भकारो व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने जनाइएको छ।

प्रकाशित: Jul 11, 2023| 10:01 मंगलबार, असार २६, २०८०
प्रतिक्रिया दिनुहोस्