NadaNada
आइतबार, भदौ १, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको पार्किङ शुल्क घटाउन माग

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको पार्किङ शुल्क घटाउन माग

 |  मंगलबार, असार २६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असार २६, २०८०

vianetvianet

पोखरा- पोखरा उद्योग वाणिज्य सङ्घले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको पार्किङ शुल्क घटाउन माग गरेको छ।

सङ्घका अध्यक्ष पवनकुमार प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलले नागरिक उड्डयन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक विक्रम गौतमलाई सोमबार ध्यानाकर्षणपत्र बुझाउँदै पुरानो विमानस्थलभन्दा झन्डै २१ गुणा महँगो शुल्क कुनै पनि कोणबाट जायज नभएको बताए।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पुरानो विमानस्थलमा भन्दा बढी सवारी पार्किङ शुल्क तिर्नुपरेपछि अहिले विरोध भइरहेको छ । घन्टैपिच्छे पटके शुल्क तिर्नुपर्दा मारमा परेको काम विशेषले विमानस्थल जानेहरु बताउँछन्।

पुरानो पोखरा विमानस्थलमा १० रुपैयाँमा पार्किङ गरेका २ पांग्रे सवारी धनीले अहिले नयाँ विमानस्थलमा ३० रुपैयाँ बुझाउनु पर्नेछ। प्रवेश गर्दा ६० रुपैयाँ शुल्क तिर्नुपरेपछि ट्याक्सी चालकले यो रकम यात्रुसँग उठाउन थालेका छन्।

सङ्घले आवागमनलाई असर नपर्ने गरी यात्रुलाई पुर्याउन जाँदा बिदाइ र आगन्तुक, अथिति, पाहुनालाई स्वागत गरी सवारीमा चढाउने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ।

Metro Mart

ध्यानाकर्षणपत्रमा विमानस्थल निर्माणको सूत्रधार, अभियानकर्ता एवं उपभोक्ताको नाताले विमानस्थलसँग सङ्घको गहिरो चासो जोडिएको उल्लेख गर्दै राष्ट्रिय गौरवको परियोजनाका रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रवाह हुने सेवा–सुविधा अन्तर्राष्ट्रियस्तरकै हुनुपर्नेमा जोड दिइएको छ।

सेवा प्रवाहबाटै विमानस्थलले उपभोक्ताको मन जित्नुपर्ने उल्लेख गर्दै सङ्घले ध्यानाकर्षणपत्रमा विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा व्यवस्थित पार्किङ अपरिहार्य हुने र सेवा सस्तो, सुलभ एवं नागरिकमैत्री हुनुपर्ने भनेको छ। विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान प्रबन्धमा पनि सङ्घको उत्तिकै चासो हुने जनाएको छ।

ध्यानाकर्षणपत्र बुझ्दै विमानस्थल प्रमुख गौतमले पार्किङ शुल्क महँगो भएको स्वीकार गरे। विमानस्थल प्रशासन यात्रु ल्याउने–लैजाने कार्यमा सहजीकरण गर्नुका साथै राजमार्गसम्म निःशुल्क वा सशुल्क बस सेवा सञ्चालन गर्ने तयारीमा रहेको उनले जानकारी गराए।

अध्यक्ष प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलमा वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, महासचिव बलराम आचार्य, कोषाध्यक्ष दिनेशचन्द्र बाँस्तोला र उपमहासचिव शोभा गौतमलगायत सहभागी थिए।

प्रकाशित: Jul 11, 2023| 08:41 मंगलबार, असार २६, २०८०
प्रतिक्रिया दिनुहोस्