काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत मंगलबार सरदार प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री बन्न दिल्ली जानुपर्ने अभिव्यक्तिको गलत अर्थ लगाइएको गुनासो गरेका छन्।
उनले आफूलाई सिंगो सदनको ठूलो मतले प्रधानमन्त्री बनाएकाले पुस्तक विमोचन कार्यक्रममा पुस्तक वरिपरि रहेर व्यक्त विचारलाई इस्यु बनाएर प्रतिपक्षबाट राजीनामा माग्नु गलत भएको बताए।
दिवंगत जेठी छोरीलाई क्यान्सर हुँदा उपचारका क्रममा दिल्ली गएका बेला सिंहले भावनात्मक रुपमा तपाईं प्रधानमन्त्री हुनुपर्छ भनी सद्भाव राखेको विषयलाई बढाइचढाइ गरेर आफ्नो खेदो खनिएको प्रधानमन्त्री प्रचण्डले गुनासो गरे।
उनले भने, ‘स्पष्टीकरणको मौकासमेत नदिई राजीनामा माग्ने? संसद्को मर्यादा यही हो?’ प्रतिपक्षीले राजीनामा माग्नेबित्तिकै प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने हो?’ उनले मुख्यतः प्रतिपक्षी एमालेले उठाएको विषयलाई जवाफ दिन रोस्ट्रममा उपस्थित भएको बताए।