काठमाडौं–हेटौंडा–भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ। हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौंडा–भरतपुर खण्डलाई सञ्चालनमा ल्याइएको हो।
डबल सर्किट २२० केभी प्रसारण लाइनको ७३ किलोमिटर लामो एउटा सर्किटलाई तत्कालका लागि १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याएको विद्युत् प्राधिकरणले बताएको हो।
मकवानपुरको हेटांैडा उपमहानगर चौकीटोलस्थित पुरानो हेटौंडा सबस्टेसनबाट चितवनको भरतपुर महानगर आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनसम्मको २२० केभी प्रसारण लाइनलाई १३२ केभीमा चार्ज गरिएको छ।
हेटौंडा–भरतपुर खण्ड प्रसारण लाइन सञ्चालनमा आएपछि हेटौडाबाट भरतपुरतर्फ र भरतपुरबाट हेटौंडातर्फ करिब १७० मेगावाट विद्युत् प्रवाह गराउन सकिनेछ।
अहिले रहेको पुरानो १३२ केभी प्रसारण लाइनबाट करिब ९० मेगावाट मात्र विद्युत् प्रवाह हुँदै आएको थियो। हेटौंडा–भरतपुर खण्ड सञ्चालनमा आएसँगै त्यस क्षेत्रमा थप विद्युत् प्रवाहका लागि केही सहज हुनेछ।
नेपालभित्रको प्रसारण लाइन सुदृढ तथा विश्वसनीय बनाउन र पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि हेटांैडा–भरतपुर–बर्दघाट प्रसारण लाइन आयोजना सुरु गरिएको हो।
सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलियतपूर्ण कर्जामा आयोजना सन् २००८मा सुरु गरिएको थियो। आयोजनालाई हेटौंडा–भरतपुर र भरतपुर–बर्दघाट दुई खण्डमा विभाजन गरी निर्माण सुरु गरिएको थियो।
प्रसारण लाइन निर्माणमा स्थानीयको अवरोध, जग्गा प्राप्तिमा समस्या, वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटानमा भएको ढिलाइ, ठेकेदार कम्पनीको कमजोर कार्यसम्पादनलगायत कारणले आयोजना निर्माण प्रभावित भएको थियो।
विश्व बैंकले आयोजनाबाट २०७८ कात्तिकबाट हात झिकेपछि सरकार र प्राधिकरणको लगानीमा बाँकी काम अगाडि बढाइएको थियो। हेटौंडा–भरतपुर खण्डअन्तर्गत हेटौंडा उपमहानगर–११ थानाभर्याङस्थित निर्माणाधीन सबस्टेसनमा लाइन लैजान २२० केभी चार सर्किट (मल्टी सर्किट)का २ वटा टावर निर्माण भइरहेको छ।
उक्त काम आगामी भदौभित्रमा सम्पन्न हुने आयोजना प्रमुख सन्तोष साहले बताए। हेटौंडा–भरतपुर खण्ड निर्माणका लागि भारतीय कम्पनी आइकम टेलबीच २०६५ फागुनमा ठेक्का सम्झौता भएको थियो। तर रणनीतिक महत्त्वको प्रसारण लाइनको काम अलपत्र पारेपछि प्राधिकरणले ठेक्का तोडी कम्पनीले कार्य सम्पादन जमानतबापत राखेको ३० लाख ५७ लाख अमेरिकी डलर पनि जफत गरेको थियो।
यसैगरी प्राधिकरणले काम ढिला गरेबापत करिब १६ लाख डलर बिलम्व जरिमाना पनि लगाउने निर्णय गरेको थियो। त्यसपछि नयाँ टेण्डर आह्वान गरी २०७७ जेठमा नयाँ ठेक्का सम्झौता गरिएको थियो।
भरतपुर–बर्दघाट खण्ड साउनभित्र
आयोजनाअन्तर्गत चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बर्दघाटसम्मको भरतपुर–बर्दघाट २२०केभी प्रसारण लाइन खण्डलाई आगामी साउनभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ।
नवलपरासी विनयी त्रिवेणी गाउँपालिका–२ दुम्कीबासमा स्थानीयको अवरोध र सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण २०७७ चैतबाट यस खण्डमा पर्ने दुई वटा टावर निर्माण रोकिएको थियो। यसले गर्दा प्रसारण लाइन निर्माण पूरा हुन सकिरहेको थिएन।
सर्वोच्चले रिट खारेज खारेज गरिदिएसँगै स्थानीयसँग सहमति जुटेपछि टावर निर्माण अगाडि बढेको थियो। अहिले टावर निर्माण भइसकेको छ। १.७ किलोमिटर तार तान्न सुरु गरिएको छ।
नवलपरासीको दुम्कीबासमा भइरहेको अवरोधका कारण प्रसारण लाइन निर्माण गर्न नसक्दा भरतपुरबाट बर्दघाटतर्फ थप विद्युत पठाउन नसक्ने अवस्था आएपछि प्राधिकरणले वैकल्पिक व्यवस्थामार्फत निर्माण सम्पन्न भएको खण्डलाई चार्ज गरेको थियो। प्रसारण लाइनको क्षमताले नधान्दा अहिले भरतपुरबाट बर्दघाटतर्फ विद्युत् प्रवाहका लागि समस्या रहेको छ।