काठमाडौं- संसद् अवरोधमा ‘रेकर्ड’ राखेको मुख्य प्रतिपक्षी एमालेले विगत पाँच दिनदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विवादास्पद अभिव्यक्तिलाई निहुँ बनाएर प्रतिनिसिभा र राष्ट्रिय सभा बैठक अवरुद्ध गरिरहेको छ। गत मंगलबार सरदार प्रितम सिंहको पुस्तक विमोचनमा पुगेका प्रचण्डले नेपालमा प्रधानमन्त्री हुन दिल्ली दौडिनुपर्ने आशयको विवादास्पद अभिव्यक्ति दिएपछि एमालेले प्रधानमन्त्रीको राजीनामा मागलाई मुख्य एजेन्डा बनाएर संसद् अवरोध जारी राखेको छ।
एमालेलगायत दलको संसद् अवरोधले मिटरब्याजसम्बन्धी विधेयक पारित हुन नसक्दा करिब २४ हजार पीडितका निवेदन बेवारिसे बनेका छन्। एमालेले प्रचण्डको विवादास्पद अभिव्यक्तिपछि राजीनामा दिनैपर्ने माग राखेर संसद् अवरोध जारी राखिरहेका बेला सभामुख देवराज घिमिरेले शुक्रबार मुख्य राजनीतिक दलका प्रमुख सचेतक र सचेतकलाई सिंहदरबार कार्यालयमै बोलाएर बैठक बसाले पनि सहमति जुट्न सकेन।
सभामुख घिमिरेले जनप्रतिनिधिको थलो संसद्लाई अवरोध गरिरहँदा राजनीतिक दलकै बदनाम हुने भएकाले एमालेलाई त्यसो नगर्न सुझाइसकेका छन्। तर एमालेले सभामुखको आग्रहलाई टेरेको छैन। उनले संसद् सुचारु गराउन राजनीतिक दलका शीर्ष नेतृत्वलाई बारम्बार आग्रह र सिंहदरबारमा बैठक पनि गर्दै आएका छन्। यद्यपि अहिलेसम्म निकास निस्किइसकेको छैन।
आइतबार पनि सभामुख घिमिरेकै पहलमा बुधबारदेखि अवरुद्ध संसद् खुलाउने विषयमा सत्तारुढ कांग्रेस, नेकपा माओवादी केन्द्र र प्रतिपक्षी एमालेका शीर्ष नेताहरूबीच छलफल भयो। बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रतिपक्षी एमाले अध्यक्ष केपी ओली सहभागी थिए। छलफलमा एमाले प्रधानमन्त्री प्रचण्डको राजीनामा मागबाट पछि हटेर संसद्मा माफी माग्ने सहमतिमा संसद् खुलाउने भनिएको थियो। सोहीअनुसार आइतबार दुई–दुईपल्ट संसद् स्थगित गरिएको थियो। तर बेलुकी एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डको सचिवालयबाट प्रेस सल्लाहकार गोविन्द आचार्यको नाममा जारी विज्ञप्ति र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको ट्वीटले ‘ट्विस्ट’ ल्याएको दाबी गर्दै संसद् चल्न दिने निर्णयलाई पुनः अनिर्णय घोषणा गरेपछि राजनीतिक सहमति भताभुंग भएको छ। यसबाट पनि दुई कम्युनिस्ट सहोदर एमाले र माओवादी नेताहरूको जुँगाको लडाइँको प्रतिछाया संसद्मा प्रवेश गरेको देखिन्छ।
एमालेले प्रधानमन्त्रीको राजीनामालाई बटमलाइन बनाएपछि प्रतिनिधिसभा बैठक बस्न सकेको छैन। राष्ट्रियसभा बैठक लगातार आजसहित चौथो पटक स्थगित भएको छ।
आइतबारको छलफलमा प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे सदनलाई प्रस्ट पार्ने सहमति भए पनि सिंहदरबार बैठकबाट बाहिरिएका ओलीले प्रचण्डलाई फोन गरेर एमालेमाथि लगाइएको आरोप फिर्ता नभएसम्म बैठक चल्न नसक्ने अडान लिएकै कारण स्थगित गर्नुपरेको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले दाबी गरेका छन्। उनले एमालेले भनेअनुरुप राजीनामाबाहेक अरु विषयमा माओवादी लचिलो भएका बेला मागमाथि माग थुपारेर संसद् अवरुद्ध गर्न खोजिएको आरोप लगाए।
उनले भने, ‘सिंहदरबार शीर्ष नेताहरूको बैठकमा सदन चल्न दिने सहमति भएर ओलीजी बाहिरिनुभएको थियो। तर बैठकबाट बाहिरिसकेपछि उहाँले प्रधानमन्त्रीलाई फोन गरेर अझै कुराकानी गर्न बाँकी छ। कुरो मिलिसकेको छैन भनेपछि बैठक स्थगित भएको हो। यसमा नेकपा माओवादी र सरकारको कुनै दोष छैन।’
एमालेले सहमति भाँडेपछि प्रधानमन्त्री प्रचण्डबाट सोमबारसम्म बैठक स्थगित गर्न सभामुखलाई आग्रह भएको उनले दाबी गरे। सिंहदबारको शीर्ष नेताबीचको वार्तामा सहमति जुट्नासाथ दिउँसो ३ बजेतिर प्रधानमन्त्री प्रचण्डको आत्मालोचनासहित संसद् बैठक चलाउन दिने सहमति भएको एमालेकै प्रमुख सचेतक पदम गिरिले जानकारी दिएका थिए। उनले भनेका थिए, ‘हामीले आजदेखि सदन चलाउन दिने सहमति गरेका थियौं। तर प्रधानमन्त्री प्रचण्डबाटै भोलिका लागि सारिएपछि सबै कुरो बिग्रेको हो। यसमा एमाले दोषभागी छैन।’ शीर्ष नेताबीच भएको सहमति अध्यक्ष ओलीले सिंहदरबार छाडेपछि बेलुकी ५ बजे पुनः विमतिमा पुगेको थियो।
एमालेले प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्यको २१ असारको वक्तव्य र उपप्रधान तथा गृहमन्त्री नारायणकाजीको अभिव्यक्ति फिर्ता लिनुपर्ने अर्को अडान थपेपछि संसद् दुई पार्टीको बन्धकमा परेको छ। एमालेले प्रधानमन्त्रीका प्रेस सल्लाहकार र गृहमन्त्रीको ट्विट हटाउनुपर्ने माग राखेर संसद् अवरुद्ध गर्ने गैरराजनीतिक छलकपटी देखाएको माओवादी नेता रामप्रसाद सापकोटाको दाबी छ।
उनले आइतबार भनेका थिए, ‘प्रधानमन्त्रीबाट भुलवश बोलिएको वक्तव्यबारे सदनमा माफी माग्ने सहमति भएर बैठक सुरु हुनै लाग्दा एमालेले गैरराजनीतिक माग राखेर अड्को थापेको छ। यसबारे पनि पार्टीभित्र छलफल होला।’
एमाले र नेकपा माओवादीका कारण संसद बन्धक बनेको आरोप प्रतिपक्ष राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लगाएका छन्। उनले कांग्रेसलाई समेत मुछेर संसद् तीन दलको अचानोमा परेको दाबी गरेका छन्। तर एमालेका प्रमुख सचेतक गिरी आफूहरूका कारण नभई प्रधानमन्त्रीका कारण संसद् बन्द भएको दाबी गर्छन्। एमालेमाथि लगाइएको गम्भीर आरोप फिर्ता भए मात्रै संसद् चल्न दिने एमाले माग रहेको उनको भनाइ छ।
आइतबारको सहमति प्रधानमन्त्री प्रचण्डकै कारण बिथोलिएको एमाले सचिव एवं सांसद योगेश भट्टराईको जिकिर छ। उनले भने, ‘तीन नेताबीच सहमति भएपछि प्रधानमन्त्रीको जवाफ सुन्न संसद् भवन पुगेका मात्र थियौं। प्रधानमन्त्रीकै अनुरोधमा आजको बैठक भोलिलाई सारिएको सूचना आयो। जवाफ तयार गर्नुअघि कतै सोध्नुपर्ने हो कि– किन सारिएछ कुन्नि?’
एमाले र माओवादीको झगडाले बन्धक भइरहेको संसद् अवरोधबारे सत्ता गठबन्धनको मुख्य टेको कांग्रेसले भने दुवै दलका टिप्पणी अराजनीतिक भएको बताएको छ। महामन्त्री विश्वप्रकाश शर्माले प्रचण्डको अभिव्यक्ति र एमालेको राजीनामा माग दुवै गलत भएको टिप्पणी गरेका हुन्।
उनले भने, ‘स्थिर सरकारको परिकल्पना गरेर पाँच-पाँच महिनामा राजीनामा माग्नु गलत हो। हरेक घटनामा प्रधानमन्त्रीले राजीनामा दिने हो भने कोरोना महामारीको समयमा स्वास्थ्य सामग्रीमा भ्रष्टाचार हुँदा र संसद् विघटन गर्दा नै राजीनामा आउनुपर्ने हो।’
एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै सदन अवरोध गरेपछि बालुवाटारमा बिहीबार बसेको गठबन्धन दलको बैठकले प्रचण्डको छिनोफानो संसद्मै हुने र राजीनामा दिनु नपर्ने निर्णय गरेको थियो।
प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्ति गलत भए पनि एमालेबाट सदन अवरोध गर्नु राजनीतिक रुपमा बेइमानी भएको कांग्रेस महामन्त्री शर्माको जिकिर छ। एमाले, नेकपा माओवादी केन्द्रको झगडा संसद्मा भित्र्याइएको उनको बुझाइ छ।
उनले भने, ‘प्रधानमन्त्रीले संसद्, सांसद र नागरिकको आत्मसम्मानमा चोट पुग्ने गरी बोल्न नहुने थियो। बोलेपछि संसद्मा आत्मालोचना गर्ने सहमति जुटिसकेको अवस्थामा पुनः एमालेले अर्को विषय अगाडि सारेर अवरोध गर्ने उपाय खोजेको देखियो। यसमा कांग्रेसको असहमति छ।’
आज दिउँसो ३ बजे प्रतिनिधिसभा बैठक बस्ने कार्यसूची संसद् सचिवालयले तय गरेको छ। त्यसअघि प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेता सिंहदरबारमा छलफलमा जुटेका छन्।