बिहीबार, असार ४, २०८३

वन्यजन्तुका लागि चितवनका सामुदायिक वनमा पोखरी निर्माण

 |  सोमबार, असार २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार २५, २०८०

चितवन- वन्यजन्तुका लागि चितवनका सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ। डिभिजन वन कार्यालय चितवनले चालु आर्थिक वर्ष २०७९–८० मा छ वटा सामुदायिक नयाँ पोखरी निर्माण गरेको हो।

National life

कालिका नगरपालिका–१ को चतुर्मुखी सामुदायिक वन, इच्छाकामना गाउँपालिका–७ को कालिका पिपलटार सामुदायिक वन र कालीखोला देउराली सामुदायिक वन, रत्ननगर नगरपालिका–११ को पञ्चकन्या सामुदायिक वनमा नयाँ पोखरी निर्माण गरिएको हो।

पञ्चकन्या सामुदायिक वनमा दुईवटा पोखरी निर्माण गरिएको छ भने अन्य वनमा एउटा–एउटा पोखरी निर्माण गरिएको छ। केही ठाउँमा पानीको प्राकृतिक स्रोतबाट र केही ठाउँमा सोलार बोरिङको माध्यमबाट पोखरी निर्माण गरिएको सहायक वन अधिकृत बालकृष्ण खनालले जानकारी दिए। वन्यजन्तुलाई पानी खान, आहाल खेल्न र प्रकृतिको रिचार्जका लागि पोखरी निर्माण गरिएको उनको भनाइ।

भरतपुर महानगरपालिका–२९ को वागेश्वरी सामुदायिक वनमा पनि नयाँ पोखरी निर्माण गरिएको छ। डिभिजन वन कार्यालयले क्यामेरा ट्रयापिङमा दुइवटा पाटेबाट देखेपछि सो क्षेत्रमा पोखरी निर्माण गरिएको वन अधिकृत खनालले बताए। यहाँ सोलार बोरिङसहितको पोखरी निर्माण गरिएको छ।

वन कार्यालयले नयाँ पोखरी निर्माणसँगै पुराना पोखरीमा पानीको स्रोत व्यवस्थापन र संरक्षणका काम पनि गरेको अधिकृत खनालले जानकारी दिए।

Shivam cement

उनका अनुसार इच्छाकामना गाउँपालिका–७ को सोमरी सामुदायिक वन, राप्ती–७ को बागदेवी सामुदायिक वन, राप्ती–१० को सत्यदेवी सामुदायिक वन, कालिका नगरपालिका–८ को देवीढुङ्गा सामुदायिक वन, कालिका–८ कै मङ्गलादेवी सामुदायिक वन, भरतपुर–१६ को सिद्धीगणेश सामुदायिक वन, कालिका–५ को भीमवली सामुदायिक वन र कालिका–२ को थाङ्खोला सामुदायिक वनमा पुराना पोखरीको व्यवस्थापन गरिएको छ।

पोखरी निर्माणका लागि डिभिजन वन कार्यालयले ३१ लाख रुपैयाँ खर्च गरेको छ। यो आर्थिक वर्षमा पनि पोखरी निर्माण र व्यवस्थापनको कामलाई निरन्तरता दिने वन अधिकृत खनालको भनाइ छ। उनले नयाँ सिमसार क्षेत्रको खोजी गर्ने र पुराना सिमसारलाई संरक्षण गर्दै जाने योजना वन कार्यालयको रहेको बताए।

डिभिजन वन कार्यालयअन्तर्गत चितवनमा ९३ सामुदायिक वन रहेका छन्। यी वनमा साना ठूला वन्यजन्तु छन्। बाघ, गैँडा, चित्तल, बँदेल, स्याललगायतका जनावर यहाँका सामुदायिक वनमा पाइन्छन्।

चतुर्मुखी सामुदायिक वनका अध्यक्ष हरि गुरुङले सुक्खा याममा वनमा पानीको अभाव हुने हुँदा पोखरी निर्माणपछि वन्यजन्तुका लागि धेरै सहज भएको बताए।

प्रकाशित: Jul 10, 2023| 09:29 सोमबार, असार २५, २०८०
प्रतिक्रिया दिनुहोस्