बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • विमानभित्रैबाट पक्राउ परेका थिए सञ्‍चार सचिव राउत, भारत हुँदै तेस्रो मुलुक भाग्‍ने योजना

विमानभित्रैबाट पक्राउ परेका थिए सञ्‍चार सचिव राउत, भारत हुँदै तेस्रो मुलुक भाग्‍ने योजना

 |  आइतबार, असार २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार २४, २०८०

काठमाडौं- ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा जोडिएका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई विमान भित्रैबाट पक्राउ गरिएको खुलेको छ। सञ्‍चार सचिव राउत आइतबार विराटनगर जाने भन्दै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको 'डोमेस्टिक टर्मिनल' मा विमानमा बसिसकेको अवस्थामा पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ। 

National life

स्रोतले भन्यो, 'उहाँ विराटनगर हुँदै भारत जाने र त्यहाँबाट तेस्रो मुलुक भाग्‍ने योजना रहेको पाइएको छ। उहाँले यहाँबाट विराटनगर उत्रिने र त्यहीँबाट सडकमार्ग हुँदै जोगवनीबाट तेस्रो देश भाग्‍ने योजना बनाउनु भएको रहेछ।' 

उक्त योजनाबारे गृहमन्त्रीलाई ब्रिफिङ भइसकेपछि गृहमन्त्रीको कानुन बमोजिम गर्नु भन्‍ने निर्देशन पाएपछि सीआईबीको टोलीले उनलाई विमानभित्र बसिसकेको अवस्थामा पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ। 

उनलाई पक्राउ गर्न प्रहरीले पहिले नै पक्राउ पूर्जी लिइसकेको थियो। देश छोड्न लागेको सूचना प्रहरी महानिरिक्षक वसन्त कुँवरमार्फत गृहमन्त्री श्रेष्ठसमक्ष पुर्‍याएपछि विमान 'होल्ड' गर्न लगाएर पक्राउ गरिएको हो। उनी ललिता निवास प्रकरणमा पक्राउ पर्ने सूचना पाएपछि सञ्चार मन्त्रालयमा बुवा विरामी भनेर बिदा स्वीकृत गराएको पनि खुलेको छ। 

राउत २०६६/०६७ मा भौतिक पूर्वाधार मन्त्रालयमा शाखा अधिकृत थिए। त्यही समय ललिता निवासको जग्गा प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखको निवास विस्तार गर्ने नाममा भूमाफियाको योजनाअनुसार अगाडि बढेको सट्टाभर्नासम्बन्धी निर्णयमा राउतले टिप्पणी उठाएका थिए।

Shivam cement

सीआईबीले यो प्रकरणमा असार दोस्रो साता भाटभटेनी सुपरमार्केटका मीनबहादुर गुरुङ र पूर्वनिर्वाचन आयुक्त सुधिरकुमार शाहसहित ११ जनालाई समातिसकेको थियो। 

उक्त प्रकरणमा मुछिएका अन्य बहालवाल र भूतपूर्व कर्मचारी तथा मन्त्रीहरुमाथिसमेत निगरानी गरिरहेको सीआईबीले आइतबार राउत त्रिभुवन विमानस्थल पुगेको देख्यो।
 

प्रकाशित: Jul 09, 2023| 19:35 आइतबार, असार २४, २०८०
प्रतिक्रिया दिनुहोस्