काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरु नेकपा (एमाले) को पक्षमा नरहेको बताएका छन्। एमालेप्रति आक्रोश व्यक्त उनले संसद् प्रतिपक्षको हुने भए पनि एमालेले सत्तारुढ दलसँग सहमति गरेर संसद् खोल्ने र चित्त नबुझ्दा बन्द गर्ने स्थिति सिर्जना हुनु गलत भएको बताएका छन्।
संघीय संसद् भवनमा आइतबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले रास्वपाको आफ्नै मुद्दा र एजेण्डा रहेकाले कसैको पछि नलाग्ने बताएका हुन्। लामिछानेले संसदलाई प्रमुख तीन राजनीतिक दलहरूले आफ्नो सिन्डिकेट बनाउन खोजेको बताएका छन्।
उनले भने, ‘सदन तीन नेताको होइन। सदन प्रतिपक्षको हो अझ बढी। सार्वभौम जनताले चुनेर पठाएका जनप्रतिनिधिले जनताका कयौँ सवालमा कुराकानी गर्नुपर्नेछ। उहाँहरूको सल्लाह मिल्यो भने संसद चल्ने भयो। नमिल्दाखेरी संसद नचल्ने भयो। संसदमा स्वतन्त्र रूपमा जितेर आउनुभएको मान्यज्यूको पनि उत्तिकै भूमिका रहन्छ। संसदलाई संसदजस्तो बनाउनुपर्छ। सरकार अथवा ठूला दलहरू बीचको भागबन्डाको विषय नै होइन संसद। प्रमुख तीन दलले संसदलाई आफ्नो सिन्डिकेट बनाउन खोजेको देखियो।’
उनले अब आफूहरू चुपचाप नबस्नेसमेत बताए। उनले भने, ‘पहिलो पटक भएको छैन यस अगाडी पनि भएको थियो। त्यतिखेर पनि हामी चुपचाप बस्यौँ। ठिकै छ भनिरह्यौँ। तर यो गर्न पाइँदैन। यो गलत हो। संसदको मर्यादालाई, संसदको गरिमालाई जोगाउनुपर्ने हुन्छ। जनप्रतिनिधिहरू त्यहाँ आम नागरिकको मुद्दा बोकेर आएका हुन्छन्। सरकारले एक त बिजनेस नै दिन सकिरहेको छैन। सरसल्लाहमा बसेर अनुमति लिएर मात्रै गर्ने भन्ने ? जे मुद्दा छ संसदमा लिएर आउने। संसदमा कुरा गरौँ।’
उनले आफूहरू मिटर ब्याज पीडितहरूको पक्षमा नरहेको प्रचार गरिएको भन्दै त्यसमा सत्यता नरहेको बताए। आफूहरू मिटर ब्याज पीडितको लागि आएको अध्यादेशको पक्षमै रहेको उल्लेख गर्दै उनले अन्तिम दिनमा संसदमा ल्याउनु नै सरकारको गल्ती भएको बताए। उनले आफूहरू संसद सुचारु रूपमा चलोस् र प्रधानमन्त्रीले संसदबाट जवाफ दिनुपर्ने पक्षमा रहेको बताए।
सभापति लामिछानेले यसअघिको बैठकमा एमालेका सांसदहरूले बोलेपछि सभामुखले आफूहरूलाई बोल्न नदिएर सबै प्रतिपक्षको आवाज नै त्यही हो भन्ने भाष्य निर्माण गरिएको बताए। उनले रास्वपाको आफ्नै अडान र मुद्दाहरू रहेको उल्लेख गर्दै त्यसमा आफूहरू अडिग रहेको बताए।