काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणालाई पैसा दिएको भन्ने अडियो सन्देश शर्माको भए पनि उक्त आरोप भए भने झुटा भएको खुलेको छ। यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी नेतृद्वय आरजु राणा देउवा र मञ्जु खाणलाई 'साढे दुई करोड र ६ करोड रकम लिएको' आरोप लगाउँदै अडियो बनाइएको थियो। उक्त अडियो सार्वजनिक भएपछि कांग्रेस सांसदसमेत रहेकी आरजुले आफू त्यस्तो कुनै गतिविधिमा संलग्न नभएको भन्दै अडियो 'एनिमेटेड' भएको भन्दै उजुरी दिएकी थिइन्।
उक्त उजुरीमाथि अनुसन्धान गर्ने क्रममा सार्वजनिक भएको अडियोमा बोल्ने व्यक्ति प्रतिवादी सन्देश शर्मा नै भएको प्रहरी नायब उपरीक्षक कुवेर कडायतले जानकारी दिएका छन्। शर्मा हाल यसै मुद्दामा पुर्पक्षका लागि थुनामा छन्।
अडियोमा आवाज सन्देश शर्माको भए पनि अडियो कसरी तयार भयो भनेर टिकटक सिंगापुरलाई पत्राचार गरे पनि थप जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ। उनले यसअघि नै अडियोको आवाज आफ्नो भए पनि जाहेरवालाको योजनाअनुसार नै आरजु र मञ्जुको नाम लिएपछि जोगिनका लागि नाम लिएको स्वीकार गरेका हुन्। यद्यपि अडियोमा पैसा दिएको भन्ने आवाज भएका शर्माले आफूलाई जोगाउने आश देखाएर उक्त अडियो बनाउन लगाएको स्वीकार गरेका छन्।
उनले आफूलाई गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले योजना बनाएर उक्त अडियो बनाउन लगाएको स्वीकार गरे पनि आरजु र मञ्जुलाई पैसा दिएको कुरा भने झुटो भएको बताएका छन्। उनले भनेका छन्, 'जाहेरवाला गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले मलाई पहिले नै फोन सम्पर्क गरी हामीले पैसा लिएका मानिसहरुले हामीलाई समस्यामा पारिसके। निजहरु आएको समयमा हामी तपाईंलाई फोन गर्छौं। सो समयमा तपाईंले हामीले भनेको मानिसलाई रकम बुझाएको छौं भनी जानकारी गराइदिनु भयो भने बच्छौ भनी पहिले नै भनेका थिए,’ उनले भनेका छन्, ‘त्यहीअनुसार मैले फोन गरेको हुँ। पहिले नै उनीहरुको नाम लिई पैसा दिएको हो भनी भन्नु भनेको हुँदा उनीहरुले भनेअनुसार आरजु देउवा तथा बालकृष्ण खाण र तपाईंले हामीले भनेको मानिसलाई रकम बुझाएका छौं भनी जानकारी गराइदिनु भनेर मञ्जु खाणको समेत नाम लिई मैले रकम बुझाएको हो भनी कुरा गरेको हो।’
उनले आरजु र मञ्जुलाई आफूले चिन्दै नचिन्ने भएकोले यति धेरै रकम नगदै बिनाकाम दिने कुरै नभएको पनि बयानमा बताएका छन्। उनले थप भनेका छन्, 'उक्त कुरा वास्तविक होइन। जाहेरवालाहरुले भन्नु भनेअनुसार मात्र भनेको हुँ। मैले निजहरुलाई चिनेको छैन, चिन्दै नचिनेको व्यक्तिहरुलाई यति धेरै रकम नगदै बिना दिने कुरै भएन।'
अडियोमा आवाज सन्देश शर्माको भए पनि अडियो कसरी तयार भयो भनेर टिकटक सिंगापुरलाई पत्राचार गरे पनि थप जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ।
यस मुद्दामा पूर्व मन्त्रीहरू सहित १६ जना पुर्पक्षका लागि थुनामा छन्। काठमाडौं जिल्ला अदालतले उक्त मुद्दाका अभियुक्तमध्ये दुई जनालाई मात्रै धरौटीमा छोड्ने आदेश दिएको र अन्य १६ जनालाई जगन्नाथ देवलस्थित केन्द्रीय कारागारमा पठाउने आदेश दिएको छ।
आरोपितहरूमध्ये लक्ष्मी महर्जन र टंक गुरुङलाई मात्रै धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको थियो। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा सरकारी वकिलको कार्यालयले जेठ १० गते ३० जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो।
मुद्दामा आरोपितहरूबाट कुल २८ करोड ८१ लाख रुपैयाँ बिगो दाबी गरिएको छ। आरोपितहरूमाथि लगाइएका अभियोगमध्ये सबैभन्दा धेरै सजाय र जरिवाना ठगी र किर्तेसम्बन्धी कसुरमा छ। दोषी ठहर हुनेलाई प्रत्येक अभियोगमा सात वर्ष जेल र ७०,००० रुपैयाँसम्म जरिबाना हुन सक्छ।
राज्यविरुद्ध अपराधमा पाँच वर्ष जेल र ५०,००० रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ। त्यसैगरी संगठित अपराधको कसुरमा पनि पाँच वर्ष जेल सजाय र ५०,००० रुपैयाँसम्म जरिवानाको व्यवस्था छ।
उनीहरूविरुद्ध ठगी, किर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराधको अभियोग लगाइएको थियो। उक्त प्रकरणमा आरोप लागेका भूतपूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थीलाई स्वदेश फिर्तीका लागि अभियान चलाइरहेका शरणार्थी नेता टेकनाथ रिजालसहित १६ जनालाई प्रहरीले फरक फरक समयमा पक्राउ गरेको थियो।
त्यसैगरी पूर्वगृहमन्त्री रामबहादुर थापाका तत्कालिन सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वमन्त्री रायमाझीका छोरा सन्दीप रायमाझी तथा बिचौलिया भनिएका केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, टंक गुरुङ, सागर थुलुङ राई पनि नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका थिए। प्रहरीले फरार रहेका अझै केही आरोपितहरूको खोजी भइरहेको जनाएको छ।