आइतबार, वैशाख २७, २०८३

बाबुरामले भने- अब उदाउँदै गरेका शक्तिसँग सहकार्य

 |  आइतबार, असार २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार २४, २०८०

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले समाजवादी मोर्चामा आफू नअटाएको बारेमा प्रस्टीकरण दिँदै अब देशमा उदाउँदै गरेका सबै अग्रगामी नयाँ शक्तिहरूसँग सहकार्य गर्दै नयाँ वैकल्पिक शक्ति निर्माणमा प्रतिबद्ध रहने घोषणा गरेका छन्। 

National life

शनिबार राति सामाजिक सञ्जालमा दुई बुँदे प्रस्टीकरण दिँदै भट्टराईले पुराना शक्तिहरूमा एकाधिकार जमाएर बसेका नेताहरूको वैचारिक–राजनीतिक विषयप्रतिको अरुचि, अनिच्छा र खाली तत्कालीन संसदीय अंकगणितप्रतिको अतिशय लिप्साको प्रतिफल स्वरूप आफूसँग कुनै परामर्श र छलफलबिनै रहस्यमय ढंगले कथित ‘समाजवादी मोर्चा’ को एकतर्फी घोषणा भएको टिप्पणी गरेका छन्। 

उनले नयाँ युगको नयाँ ढंगको समाजवादवारे कुनै स्पष्ट सोच नभएको र सिर्फ अंकगणितका आधारमा कांग्रेस र एमालेसँग पालैपालो मोलमोलाइ गरेर सत्ता दोहन गर्ने मात्र समाजवादी मोर्चाको आशय देखिएकाले त्यसमा आफू संलग्न नभएको दाबी गरेका छन्। 

'जहाँसम्म हामी नयाँ शक्तितिर कि पुरानो शक्तितिर भन्ने प्रश्न छ- हामी नै वास्तवमा वैचारिक रूपले गत एक दशकदेखि देशमा नयाँ वैकल्पिक राजनीति र शक्तिका प्रमुख प्रवर्तक भएकाले हामी नयाँ वैकल्पिक शक्ति निर्माणकै पक्षमा रहेको र रहने कुरा स्वतः स्पष्ट छ', बाबुरामले भनेका छन्, 'बीचमा केही क्षेत्रीयतावादी शक्तिहरूसँग सहकार्य गर्दा हाम्रो छवि जनसमक्ष धमिलिन पुगेको कुरालाई स्वीकार्दै हामीले आत्मालोचनासहित त्यसलाई सच्याउने कार्य गरिसकेका छौँ। अतः नयाँ युगको र देशको आवश्यकता अनुरूप हामी देशमा उदाउँदै गरेका सबै अग्रगामी नयाँ शक्तिहरूसँग सहकार्य गर्दै वृहद नयाँ वैकल्पिक शक्ति निर्माणमा प्रतिबद्ध रहेको र रहने कुरा द्विविधारहित ढंगले स्पष्ट पार्न चाहन्छौँ ।' 
 

प्रकाशित: Jul 09, 2023| 09:30 आइतबार, असार २४, २०८०
प्रतिक्रिया दिनुहोस्