आइतबार, वैशाख २७, २०८३

'स्पष्टीकरणको मौका नदिई प्रधानमन्त्रीको राजीनामा माग्नु गलत'

 |  शनिबार, असार २३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार २३, २०८०

काठमाडौं- सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले नेकपा एमालेले स्पष्टीकरणको मौका नदिई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेर गलत गरेको टिप्पणी गरेका छन्।

National life

शनिबार समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले एमालेले प्रधानमन्त्री दाहाललाई स्पष्टीकरणको मौकासमेत नदिई राजीनामा मागेर आफैं फसेको बताए। उनले भने, 'संसद्‍मा उहाँहरूले कुरा उठाउन सक्नुहुन्थ्यो। के बोलेको हो तपाईंले भनेर प्रधानमन्त्रीसँग स्पष्टीकरण माग्न सकिन्थ्यो। तर उहाँहरूले पहिल्यै राजीनामा माग्नुभयो। मलाई लाग्छ– एमाले पार्टी फस्यो संसदीय मोर्चामा। यो गलत काम हो।' उनले एमालेले असंसदीय व्यवहार देखाएको आरोप लगाए।

उपाध्यक्ष पाण्डेले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री दाहालले राजीनामा दिन नपर्ने निर्णय गरिसकेको समेत स्मरण गराए। 'गठबन्धनबाट सरकारमा सामेल भएका सबै दलहरू बालुवाटारमा अस्ति नै बसेको बैठकमा राजीनामा गर्नु पर्दैन भनेर निर्णय भएको हो,' उनले भने।

भारतीय नागरिक प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले राजीनामाको मागसहित संसद् बैठक अवरुद्ध गर्दै आएको छ। सत्ता गठबन्धनले भने सिंहबारेको अभिव्यक्तिकै आधारमा प्रधानमन्त्री दाहालले राजीनामा दिन नपर्ने निर्णय गरेको छ। 

माओवादी केन्द्र र प्रधानमन्त्रीको सचिवालयले पनि एमालेको विरोधप्रति ध्यानाकर्षण जनाउँदै प्रतिपक्षीले प्रधानमन्त्रीको सदाशयतालाई दुराशयमा बदल्न खोजेको बताएका छन्।
 

प्रकाशित: Jul 08, 2023| 19:41 शनिबार, असार २३, २०८०
प्रतिक्रिया दिनुहोस्