काठमाडौं- सभामुख देवराज घिमिरेले संसद् अवरोधको समस्यालाई छलफलका माध्यमबाट समाधान गरेपछि मात्रै सदन अघि बढ्ने बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय सरदार प्रितम सिंहका विषयमा दिएको अभिव्यक्तिलाई लिएर संसद् अवरोध भइरहेको भन्दै उनले संसद्मा विषय उठिसकेपछि वार्ताको माध्यमबाट समाधान गरेर मात्रै संसद्लाई गति दिन उचित हुने बताए।
सभामुख कसैको पक्ष वा विपक्षमा नरहने भन्दै उनले संसद्मा कोलाहल हुन दिनुभन्दा वार्ताका माध्यमबाट समस्या समाधान गरी अघि बढ्न मध्यस्थताको भूमिका आफूले निभाइरहेको बताए। प्रधानमन्त्रीलाई सम्पर्क गरी प्रतिपक्ष दलहरुसँग वार्ताको पहल गरी वार्ताबाट समस्या समाधान गर्दै संसद् सुचारु गर्न आग्रह गरेको पनि उनले बताए।
सभामुख घिमिरेले प्रतिपक्षी दलको अडानका विषयमा पनि प्रधानमन्त्रीसमक्ष आफूले जानकारी गराएको भन्दै वार्ताबाट समस्याको समाधान हुनेमा विश्वस्त रहेको बताए।
उनले भने, 'सभामुखलाई आफ्नो पक्षमा आफ्नो सोचमा सभामुखलाई ल्याउनको लागि सबैले भन्छन्, सभामुखको रोल प्रधानमन्त्रीलाई बोल्न दिनेमा भयो भने त चल्थ्यो नि, भन्ने सत्ता पक्षले भन्छ भने यस्तो कुरा उठ्दा उठ्दै यो कुराको निर्क्यौल गर्ने कुरामा सत्ता पक्षले टेर्दै नटेर्ने अनि हामीले उसका कुराकानी सुनेको भरमा सदन चल्ने, चलाउने सदन भनेको कसैको इच्छाअनुसार वा नियन्त्रणमा चल्ने चिज हो र ? यस्तो पनि सभामुखले गर्नुहुन्छ र ? भन्ने अर्कोले भन्छ। त्यसैले यो त के हो भने खेलाडीहरुले मेरो पक्षमा के हो भने एम्पायरले निर्णय दिनुपर्यो भनेर आग्रह गरेजस्तो मात्रै हो।' संसद्मा विवाद उठिसकेपछि त्यसलाई समाधान गरेर टुंगोमा पुर्याउनुपर्ने उनको भनाइ छ। यसका लागि आफ्नो निष्पक्ष र तटस्थ भूमिका हुने पनि घिमिरेले बताए।
केही दिनअघि प्रधानमन्त्रीले किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली’(द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल) को विमोचन कार्यक्रममा प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन भारत र नेपाल धाएको भन्दै दिएको अभिव्यक्ति दिएपछि संसद्मा उनको चर्को विरोध भएको छ। प्रधानमन्त्री दाहालको सोही विषयलाई लिएर एमालेले संसद् अवरोध गर्दै आएको छ।