काठमाडौं– सांसद प्रदीप पौडेलले पार्टी र सरकार यही गतिमा हिँडे २०८४ को निर्वाचनमा कांग्रेसले चुनाव जित्नै नसक्ने बताएका छन्। आज काठमाडौंमा आयोजित कार्यक्रममा सहभागी नेता पौडेलले यसरी नै सरकार चले २०८४ मा कांग्रेस जुन पार्टीसँग मिलेर चुनाव लडे पनि पराजित हुने दाबी गरेका हुन्।
उनले भने, ‘सरकार यसरी नै चलिरहने हो भने २०८४ मा जो–जोसँग मिले पनि हामीले चुनाव जित्न सक्दैनौं। त्यसैले मिसन २०८४ सफल बनाउन सरकार र पार्टी दुवै सुध्रिनुपर्छ।’
सरकारमा भएका कांग्रेस मन्त्रीहरुले राम्रो काम गरेर जनतालाई विश्वास दिलाउन सके नयाँ पार्टीबाट डराउनु पर्ने अवस्था हट्ने उनको धारणा छ। ‘हामी जुन जुन सरकारमा छौं, ती सरकारमा सुशासनको पक्षमा, भ्रष्टाचारको विपक्षमा छन्, जनतालाई डेलिभर गर्न चाहन्छन् भन्ने म्यासेज दिन सक्यौं भने २०८४ चुनावमा कसैसँग मिल्नुपर्दैन, एक्ल चुनाव जितिन्छ,’ उनले भने।
नेता पौडेलले कांग्रेस नेता, कार्यकर्ताले आफ्नै पार्टीका नेतालाई सामाजिक सञ्जालमा खोइरो खन्नु पनि राम्रो नभएको सुनाए।