शनिबार, साउन ३१, २०८२

मानव–वन्यजन्तु द्वन्द्व : ५ वर्षमा २०० जनाको मृत्यु

मुलुकभरका राष्ट्रिय निकुञ्जलगायत संरक्षित क्षेत्र आसपास हात्ती, बाघ, भालु, गैँडा, चितुवा, हिउँ चितुवा, ब्वाँसो, जंगली बँदेल, अर्ना, मगर गोही, गौरीगाईलगायत वन्यजन्तुसँग मानव द्वन्द्व बढेको तथ्यांक।
 |  शनिबार, असार २३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असार २३, २०८०

vianetvianet

काठमाडौं– पछिल्लो समय वन वातावरण संरक्षण क्षेत्रमा मुलुकले प्राप्त गरेको उपलब्धि कारण अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रशंसा हुने गरेको छ। तर यससँगै बढेको मानव–वन्यजन्तु द्वन्द्व र त्यसबाट बर्सेनि दजनौँ व्यक्तिको मृत्यु तथा सरकारले बेहोर्नुपर्ने करोडौं रकमको क्षतिपूर्तिले भने विभिन्न प्रश्न उठ्ने गरेका छन्।

खासगरी संरक्षित क्षेत्र वरपर बढ्दो जनघनत्व एवं अव्यवस्थित भू–उपयोगका कारण वन्यजन्तु वासस्थानमा भएको क्षयीकरण एवं संकुचनले वन्यजन्तु आफ्नो वासस्थान छाडी गाउँ बस्तीमा पस्ने गरेका छन्। यसबाट संरक्षित क्षेत्रभित्र तथा यसको वरिपरि बसोबास गर्ने समुदायको वन्यजन्तुबाट मानवीय तथा आर्थिक क्षति हुँदै आएको छ।

हात्ती, बाघ, गैँडा, चितुवा, भालु, जंगली कुकुरलगायतका वन्यजन्तुको आक्रमणबाट पछिल्लो पाँच वर्षमा १९७ मानिसको मृत्यु भएको तथ्यांक छ। यस अवधिमा वन्यजन्तुबाट भएको क्षतिका लागि सरकारले ६० करोड १२ लाख ७४ हजार ५१४ रकम क्षतिपूर्ति बेहोरेको छ। 

वन्यजन्तुले मानिसलाई घाइते बनाउने, बालीनाली, घर, गोठको क्षतिलगायत घट्ना बढ्दै गएका छन्। मुलुकभरका राष्ट्रिय निकुञ्जलगायत संरक्षित क्षेत्र आसपासमा हात्ती, बाघ, भालु, गैँडा, चितुवा, हिउँ चितुवा, ब्वाँसो, जंगली बँदेल, अर्ना, मगर गोही, गौरी गाईलगायत वन्यजन्तुसँग मानव द्वन्द्व बढेको देखिन्छ।

आर्थिक वर्ष २०७९/८० जेठसम्म वन्यजन्तुबाट ३६ जनाको मृत्यु भएको छ भने वन्यजन्तुबाट भएको क्षतिका लागि १० करोड ८७ लाख १८ हजार ४२९ रकम राहत वितरण गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। 

Metro Mart

यस अवधिमा सबैभन्दा बढी हात्तीबाट १४, बाघबाट १२, गैँडाबाट चार, चितुवाबाट तीन, जंगली बँदेलबाट दुई र भालुबाट एक ३६ जनाको मृत्यु भएको छ। वन्यजन्तुबाट सामान्य घाइते ४६ जना, सख्त घाइते ९७ जना, पशुधनको क्षति ३ हजार ९१२, भण्डारण गरेको अन्नको क्षति २५६, घरगोठको क्षति ३८५ र अन्नबालीको क्षति तीन हजार ७४ घटना भएको विभागको तथ्यांक छ।

यसैगरी आव २०७८÷०७९ मा मुलुकभर वन्यजन्तुबाट मृत्यु हुने मानिसको संख्या ५८, सामान्य घाइते संख्या ७२ र सख्त घाइते हुनेको संख्या ११६ रहेको छ भने वन्यजन्तुबाट भएको क्षतिको कुल १२ हजार ६७२ वटा घटना दर्ता भएका छन्। यस अवधिमा सबैभन्दा बढी हात्तीबाट २३ जनाको मृत्यु भएको छ। 

त्यसपछि बाघबाट २१, गैँडाबाट पाँच, चितुवा र जङ्गली बँदेलबाट तीन÷तीन र गौरी गाईबाट एक जनाको मृत्यु भएको थियो। साथै वन्यजन्तुबाट भएको क्षतिबापत कूल रु १५ करोड ५८ लाख दुई हजार ४६८ बराबरको राहत रकम वितरण गरिएको छ। मानव वन्यजन्तु द्वन्द्वलाई न्यूनीकरण गर्न वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ (तेस्रो संशोधन, २०७५) बमोजिम राहत उपलब्ध गराउने व्यवस्था छ।

विभागका निमित्त महानिर्देशक अजय कार्कीले मानव वन्यजन्तु द्वन्द्व बढ्दै गएको र यसबाट मृत्यु हुनेको संख्या तथा राहत क्षतिपूर्ति पनि बढ्को बताए। वन तथा वातावरण मन्त्रालयले पछिल्लो समय क्षतिपूर्ति दिनुपर्ने वन्यजन्तुको सूचीमा नीलगाई र बाँदर पनि थप गरेको बताउँदै उहाँले यसले क्षतिपूर्ति रकममा ठूलो मात्रामा वृद्धि हुने उल्लेख गरे। मन्त्रालयको उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट पारित हुने अन्तिम चरणमा छ।

यसका साथै मन्त्रालयले वन्यजन्तुको आक्रमणबाट अपांग भएका व्यक्तिलाई, अस्पतालबाट डिस्चार्ज भएको ३५ दिनभित्र मृत्यु व्यक्तिलाई दिनुपर्ने क्षतिपूर्ति थप गरेकाले र गाई भैँसीको मृत्युमा दिने रकम दोब्बर गरेका कारण पनि राहत रकम बढ्ने देखिन्छ।

विभागले उपलब्ध स्रोत साधन र बजेटमा आधारित भएर रोकथाका काम गरिरहेको निमित्त महानिर्देशक कार्कीले बताए। वन्यजन्तुलाई आफ्नो वासस्थानमै बस्न सक्ने गरी र जंगलमा आश्रित मानव समुदायलाई जीवनयापनको विकल्प दिने गरी विभिन्न कार्यक्रम गरिरहेको उनको भनाइ छ। मुख्य रुपमा मानवले नै आनीबानी परिवर्तन गर्नुपर्ने उनको सुझाव छ।

आव २०७७/०७८ मा नेपालभर वन्यजन्तुबाट मृत्यु हुने मानिसको संख्या ४०, सामान्य घाइते संख्या ९८ र सख्त घाइते हुनेको संख्या ६७ छ भने वन्यजन्तुबाट भएको क्षतिका कुल ८ हजार ४५५ वटा घटना दर्ता भएका छन्। यस अवधिमा सबैभन्दा बढी हात्ती र बाघबाट १३/१३ जना, त्यसपछि गैँडाबाट ६ जना, भालु र चितुवाबाट तीन÷तीन, जंगली बँदेल र गौरी गाईबाट एक/एक जनाको मृत्यु भएको तथ्यांक छ। राहतबापत १४ करोड नौ लाख ९३ हजार पाँच सय ५६ रकम वितरण गरिएको छ।

त्यस्तै, मुलुकभर आव २०७६÷०७७ मा वन्यजन्तुबाट मृत्यु हुने मानिसको संख्या ३३, सामान्य घाइते संख्या ६७ र सख्त घाइते हुनेको संख्या ११० जना रहेको छ। यस अवधिमा सबैभन्दा बढी १३ जना हात्तीबाट, त्यसपछि बाघ र चितुवाबाट आठ/आठ र गैँडाबाट चार जनाको मृत्यु भएको थियो। वन्यजन्तुबाट भएको क्षतिका लागि राहतबापत १० करोड ६६ लाख ७५ हजार ९७१ रकम वितरण गरिएको छ।

आव २०७५/७६ मा वन्यजन्तुबाट ३० जनाको मृत्यु भएको र १३७ जना घाइते भएको तथ्यांक छ। यस अवधिमा सबैभन्दा बढी हात्तीबाट १५ जना, चितुवाबाट ६ जना, बाघबाट चार जना, गैँडाबाट दुई जना तथा जंगली कुुकुर, जंगली बँदेल र मगर गोहीबाट एक÷एक जनाको मृत्यु भएको थियो। साथै, वन्यजन्तुबाट भएको क्षतिका लागि आठ करोड ९० लाख ८४ हजार ९० राहत वितरण गरिएको थियो।

विश्व जन्तुकोष नेपालका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङले मानव–वन्यजन्तु द्वन्द्व रोकथामका लागि जंगष्ल वरपरका समुदायलाई जंगल नपस्ने गरी जीविकोपार्जनको विकल्प दिनुपर्ने, स्थानीयको वन्यजन्तुप्रति गर्ने आनीबानीमा परिवर्तन गर्नुपर्ने बताए।

उनले वन्यजन्तुको वासस्थानको राम्रो व्यवस्थापन गर्न सके वन्यजन्तु बाहिर ननिस्कने बताउँदै स्थानीयको क्षतिको क्षतिपूर्ति दिनुपर्ने र अप्ठेरोमा परेका वन्यजन्तुको उद्धार गर्नुपर्नेलगायत सुझाव दिए।–भीष्मराज ओझा/रासस

प्रकाशित: Jul 08, 2023| 12:30 शनिबार, असार २३, २०८०
प्रतिक्रिया दिनुहोस्