काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्ति विवादित बनेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उक्त अभिव्यक्ति गम्भीर र राष्ट्रियतामाथिकै प्रहार भएको भन्दै राजीनामा माग गरेको छ।
गत सोमबार राजधानीमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्रीले प्रचण्ढले आफूलाई प्रधानमन्त्री बनाउन प्रीतम सिंह पटकपटक दिल्ली धाएको अभिव्यक्ति दिएका थिए। 'यो यातायात, सामाजिक सेवा, शिक्षाको क्षेत्रमा मात्रै होइन उहाँ राजनीतिमा पनि रुची राख्नुहुन्छ। उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो। धेरैचोटी दिल्ली जानु पनि भयो। काठमाडौँका पार्टीहरुलाई, नेताहरुलाई पार्टीहरुसँग पनि उहाँ लगातार छलफल गर्नुभो। उहाँ राजनीति सफा भयो भने मात्रै देश विकास राम्रो हुन्छ भन्ने विश्वास पनि गर्नुहुन्छ,' उनले भनेका थिए, 'म शान्ति प्रक्रियामा आएदेखि नै धेरै नजिकबाट, हुन त हाम्रो कमरेड पम्फा भुसाल हुनुहुन्छ उहाँको नजिकै घर भएका हुनाले पनि लगातार अन्तर्क्रिया, सहकार्य हुने गर्यो। र हामीले नजिकबाट एक अर्काले चिन्ने, बुझ्ने र महसुस गर्ने पनि गर्यो।'
एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिमा 'भारतले प्रधानमन्त्री बनाएको आसय झल्किएको' भन्दै उनको राजीनामा मागेको छ। 'उहाँ (प्रधानमन्त्री प्रचण्ड)को अभिव्यक्ति राष्ट्रिय स्वाभिमान र स्वाधीनता गिराउने खालको अशोभनीय र आपत्तिजनक रह्यो। त्यसैले हामीलाई जवाफ होइन, अब राजीनामा चाहियो, उहाँबाट सारै भएन,' एमाले अध्यक्ष ओलीले भनेका छन्। एमालेले प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद् चल्न नदिने भन्दै शुक्रबार पनि अवरोध कायम राख्यो।
बुधबार एमाले संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डको पछिल्लो अभिव्यक्तिले जनादेशको अपमान गरेको निष्कर्ष निकाल्दै राजीनामा नआएसम्म सदनको अवरोध जारी राख्ने निर्णय गरेको थियो। नेकपा एमालेका नेता तथा सांसद रघुजी पन्तले प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद् चल्न नसक्ने स्पष्ट पारेका छन्। शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले भने, 'प्रधानमन्त्रीले बोलेको कुराको स्पष्टीकरण दिनुको कुनै अर्थ छैन। प्रधानमन्त्रीको अभिव्यक्ति देश र जनताको भावना विपरीत छ। नैतिकताका आधारमा नै प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ। एमालेको बटमलाइन नै यही हो।'
प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर एमाले, रास्वपा, राप्रपा, नेमकिपालगायत दलले विरोध गरेका छन्। यद्पि राष्ट्रिय प्रजातन्त्र पार्टी भने 'सफ्ट-कर्नर' राखेको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय नागरिक प्रितम सिंहबारे बोल्नै नहुने अभिव्यक्ति दिएको बताए पनि राजीनामाबारे भने बोलेका छैनन्। शुक्रबार काठमाडौंमा आयोजित ‘नेपालको भू–राजनीति तथा सामरिक चुनौतीहरू’ विषयक विचार गोष्ठीमा लिङ्देनले प्रधानमन्त्री प्रचण्डले अघिल्लोपटक प्रधानमन्त्री बन्दा पनि छिमेकीका लागि 'कम्फर्टेबल' सरकार बनाउनुपर्ने धारणा राखेर विदेशलाई खुसी बनाउन खोजेको आरोप लगाए।
‘देशको प्रधानमन्त्री भएको मान्छे भित्र के भो, के–के हुने गरेका छन् ? त्यो सबैलाई थाहा छ। तर, जो नभन्दा पनि हुने कुरा। आम मानिसलाई सुनाएर गौरव गर्ने कुराको परिस्थिति निर्माण भएको छ कि मलाई त प्रितम सिंहले प्रधानमन्त्री बनाउन पटकपटक दिल्ली धाउनु भएको थियो भन्दाखेरी मेरो दिल्लीसँग राम्रो सम्बन्ध छ। र, दिल्लीसँग राम्रो सम्बन्ध भएको मान्छेको मैले जीवनी मैले यहाँ सार्वजनिक गरिरहेको छु भनेर सुनाएर देशवासीलाई प्रभाव दिन खोज्ने प्रधानमन्त्री अहिले मुलुकले पाइरहेको छ,’ लिङ्देनले भने, ‘यो एउटा मात्रै घटना होइन। अलि अगाडि अघिल्लोपटक सरकार बनाउनेक्रममा पनि अहिलेकै प्रधानमन्त्रीले भन्नु भएको थियो–कि हामी फलाना-फलाना दल मिलेर यो देशमा सरकार बनायौँ भने छिमेकीहरूलाई कर्म्फटेबल हुन्छ भनेर। जसरी हाम्रो नेताहरू विदेशीको सेवा गरेर मात्रै, विदेशीहरूको साथ र समर्थन पाएर मात्रै सत्तामा बस्न सकिन्छ, सत्तामा रहन सकिन्छ भन्ने मनोदशाबाट प्रेरित हुँदै गएको अवस्था छ।’
नेताहरुले विदेशीको सेवा गरेर मात्रै सत्तामा टिकिरहन सकिन्छ भन्ने मनोदशाका कारण मुलुकको भूराजनीतिक परिस्थिति पेचिलो भन्दै गएको उनले भनाइ छ। लिङ्देनले नेपालले भारत र चीनलाई मात्रै नभएर अमेरिकासँग पनि बराबरीको सम्बन्ध बनाएर लैजानुपर्नेमा त्यसविपरीतका काम प्रधानमन्त्री प्रचण्डबाट भएको भन्दै आपत्ति जनाएका छन्। 'अहिले अझै हाम्रो लागि सकसपूर्ण परिस्थिति बन्दै गएको छ। हिजो उत्तर र दक्षिणको कुरा मात्रै थियो। दक्षिण र पश्चिमको विशेष सम्बन्ध यी सबैलाई सन्तुलनमा राखेर, सबैसँग बराबरीको सम्बन्ध राखेर, सबैलाई आश्वस्त बनाएर देशलाई अगाडि लैजानुपर्नेमा, देशलाई सबै हिसाबले परनिर्भर बनाउने र कसेको आडमा सत्तामा टिकिरहने जुन संस्कृतिको विकास भएको छ। त्यसले अहिले नेपाल गम्भीर भूराजनीतिको चपेटामा परेको अनुभूति गर्न सक्छौँ। यो खतरा एउटा र उसको सत्ताका लागि होइन। सिंगै राष्ट्रको लागि हो,' लिङ्देनले भने।
यसअघि नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको नै गल्ती भएको बताएका थिए। उनले भने, 'नेपालको प्रधानमन्त्री नेपालको संसदले चयन गर्दछ र गर्ने हो। मित्र राष्ट्रहरुलाई मित्रताकै सिमामा राख्ने कर्तव्य मुलत प्रधानमन्त्रीकै हो। आफ्नो अभिव्यक्तिको गम्भीर अर्थ र असर हुनसक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती हो। प्रधानमन्त्रीले गलत बोल्दा या गलत कार्य गर्दा आलोचना गर्ने र प्रश्न उठाउने दायित्व हरेक सांसदको हुन्छ।' सत्तारूढले नै प्रश्न गरेको बताउँदै उनले प्रतिपक्षको त मुल कर्तव्य भएको बताएका थिए।
यद्पि प्रधानमन्त्री प्रचण्डलाई आफ्नो अभिव्यक्तिबारे संसद्मा बोल्ने मौकासमेत नदिई एकपक्षीय रूपमा प्रचारप्रसार गरिएको भन्दै प्रधानमन्त्रीको स्वकीय सचिवालयले आपत्ति जनाएको छ। बिहीबार प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रेस नोट सार्वजनिक गर्दै संसद्प्रति जवाफदेही प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न नदिई भनाइको आशयविपरीत प्रचार गर्नु दुर्भाग्यपूर्ण भएको बताएका हुन्।
प्रेस सल्लाहकार आचार्यले व्यवसायी प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई अपव्याख्या गरिएको बताएका छन्। 'प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले २०८० असार १८ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई अपव्याख्या गरेर त्यसकै आडमा राजनीतिक अभिष्ट पूरा गर्न खोजिएकोतर्फ गम्भीर ध्यानाकर्षण भएको छ,' विज्ञप्तिमा भनिएको छ, 'सम्मानित संसद्बाट निर्वाचित प्रधानमन्त्री प्रचण्ड सदैव संघीय संसद्प्रति जवाफदेही हुनुहुन्छ। संसद्मा प्रष्टिकरणको मौकासमेत नदिई उहाँको भनाइको आशयविपरीत एकपक्षीय ढंगले प्रचारप्रसार गरिनु दुर्भाग्यपूर्ण छ। दलगत राजनीति र लोकतान्त्रिक प्रणालीप्रति नै वितृष्णा सिर्जना गर्न विभिन्न कोणबाट भइरहेको हमलाविरुद्ध लोकतन्त्रको रक्षा र सुशासनको प्रत्याभूतिका लागि सरकारले चालेका कामबाट 'केही हुँदैन' भन्ने निराशावादी मनोविज्ञानको ठाउँमा 'गरे हुने रहेछ' भन्ने आसलाग्दो वातावरण सिर्जना भइरहेको बेला प्रधानमन्त्रीको राजीनामा मागिनु भ्रष्टाचार र जनताका पक्षमा सञ्चालित अभियान रोक्ने मनसाय रहेको कुरा स्पष्ट नै छ।'
प्रितम सिंहसँग दाहालको पारिवारिक सम्बन्ध रहेको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ। पुस्तक विमोचनको प्रसंगलाई लिएर प्रमुख प्रतिपक्षी दलले नियोजित रूपमा संसद् अवरोध गर्दा मिटरब्याजीहरूलाई कारबाही गर्न ल्याइएको विधेयक संसद्बाट पारित नभई निस्क्रिय भएको आचार्यको विज्ञप्तिमा उल्लेख छ। प्रेस सल्लाहकार आचार्यले प्रधानमन्त्री दाहालको राजीनामा माग्नु 'संकुचित राजनीतिक मानसिकता' भएको उल्लेख गर्दै यसले सरकारले चालेका कदमको विरोध र सिंगो संसद्कै अपमान हुने समेत बताएका छन्।