काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा भारतीय जासुसी संस्था रिसर्च एनालिसिस विङ (रअ) का प्रमुखसँग लुकेटर भेट गरेको आरोप लगाएका छन्।
यसअघि प्रधानमन्त्री हुँदा परराष्ट्र मन्त्रालयको जानकारी बेगर बालुवाटारमा नै बोलाएर मध्यराति रअ प्रमुख सामन्त गोयललाई भेटेका एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले दिल्लीमा रअ प्रमुखकै घरमा पुगेर भेट गरेको दाबी गरेका हुन्। उक्त भेटबारे प्रधानमन्त्री प्रचण्डले कुनै कुरा सार्वजनिक नगरेको पनि ओलीको आरोप छ।
भारतीय गुप्तचर प्रमुख नेपालमा आएका बेला आफूले सार्वजनिक रूपमै भेटेको र कुनै कुरा नलुकाएको समेत दाबी गरे। तर त्यतिबेला प्रधानमन्त्री रहेका ओलीले पनि भारतको जासुसी संस्था रअका प्रमुख सामन्त गोयलसँगको भेट गोप्य राखे पनि सञ्चारमाध्यमहरुले खोजी गर्दै भेटेको खुलासा गरेपछि त्यसको बचाउमा उत्रिएका थिए।
२०७७ साल कात्तिक ५ गते सुटुक्क काठमाडौं आएका गोयलले तत्कालीन प्रधानमन्त्री ओलीसहित कस-कसलाई भेटे भन्ने त्यतिबेला पनि सरकारले जानकारी गराएको थिए। भ्रमणको उद्देश्यबारे भने हालसम्म बताइएको छैन।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आफूले त्यस समय भेटका क्रममा भने जनताको हितको पक्षमा कुरा गरेको दाबी गरेका छन्। उनले भने, 'जे कुरामा पनि नेकपा एमालेलाई दोषी देखाउने काममा लागेको छ । भारतबाट रअका प्रमुख नेपाल आए, मसँग भेट्छु भनेँ, नेपालमा आएर भेटेँ, मैले सार्वजनिक रूपमा भेटेँ, कुरा गरेँ, यस पटक प्रचण्डजी दिल्ली जानुभयो, उनको निवासमा गएर लुकेर भेट्नुभयो । गोप्य मन्त्रणा गरेर आउनु भयो । मैले त्यस्तो गोप्य मन्त्रणा गरेको होइन, वहाँ गएर भेटेको होइन । मलाई भेट्न आएको ठाउँमा मैले भेट दिएको हो । जनताको हितको पक्षमा कुरा गरेँ, अहित केही कुरा गरिनँ, उहाँले देशको हितको पक्षमा कुन शब्द उच्चारण गर्नुभयो, के भन्नुभयो, भेटेको कुरा पनि स्वीकार्न सक्नुहुन्न उहाँ।'
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा गोयल नै रअ प्रमुख थिए भने उनको कार्यकाल सकिएपछि रवि सिन्हालाई रअ प्रमुख नियुक्त गरिएको छ।