काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ।
गत मंगलबार एक कार्यक्रममा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई लिएर एमालेले सदन चल्न नदिएको हो।
बैठक अवरुद्ध गर्नुअघि एमालेकी सांसद विमला घिमिरेले प्रधानमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नसक्ने बताइन्। उनले प्रधानमन्त्री सदनले बनाउँछ कि भारतले बनाउँछ भन्दै प्रश्न गरिन्।
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले तीन दिनदेखि बैठक अवरोध हुँदै आइरहेको उल्लेख गर्दै संवाद र छलफलबाट समस्याको समाधान खोज्न आग्रह गरे पनि एमालेका सांसदहरुले अवरोध जारी राखेपछि २४ असारसम्मलाई बैठक स्थगित गरेका छन्। तिमल्सिनाले उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले सदनमा दिने बताए पनि एमाले प्रमको राजीनामाको अडानमा छन्।