काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विवादास्पद अभिव्यक्तिलाई लिएर बुधबारदेखि संघीय प्रतिनिधिसभा र राष्ट्रिय सभा अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी एमालेले आज मध्याह्न ३ बजे बोलाइएको संसद् बैठक पनि चल्न नदिने अडान लिएको छ।
गत सोमबार काठमाडौंमा आयोजित किताब विमोचन कार्यक्रममा प्रचण्डले नेपालमा प्रधानमन्त्री बन्न दिल्ली जानुपर्ने र आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक–पटक दिल्ली गएको विवादास्पद अभिव्यक्ति दिएका थिए। सोही अभिव्यक्तिलाई लिएर एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गर्दै संसद् अवरोध गरिरहेको छ।
प्रधानमन्त्री प्रचण्डको राजीनामा मागे पनि सत्तारुढ दलको बिहीबारको बैठकले एमाले मागलाई खारेज गरिसकेको छ। सभामुख देवराज घिमिरेले अवरुद्ध संसद् खुलाउन दलका प्रमुख सचेतक र सचेतकसँको छलफल गरिरहेका छन्। सभामुख घिमिरे ११ बजेदेखि प्रमुख सचेतकसँग छलफलमा बसेका हुन्।
‘सभामुखले ११ बजे बैठक बोलाउनुभएको छ । त्यहाँ सहमति भएन भने आज पनि बैठक चल्न दिँदैनौं’, एमाले नेता गोकर्ण विष्टले भने। प्रधानमन्त्री प्रचण्डले आजै आफ्नो अभिव्यक्तिबारे विवाद भएपछि संसद्मा जवाफ दिने तयारी गरेको बुझिएको छ।