बिहीबार, साउन २९, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्रीको सचिवालयले भन्यो– राजनीतिक लाभ लिन प्रचण्डको अभिव्यक्तिमाथि अपव्याख्या

प्रधानमन्त्रीको सचिवालयले भन्यो– राजनीतिक लाभ लिन प्रचण्डको अभिव्यक्तिमाथि अपव्याख्या

प्रधानमन्त्री बन्न दिल्ली जानुपर्ने विवादास्पद अभिव्यक्तिको अनर्थ लगाएर प्रधानमन्त्रीको राजीनामा मागिनु भ्रष्टाचार र जनताका पक्षमा सञ्चालित अभियान रोक्ने मनसाय भएको प्रचण्ड सचिवालयको कटाक्ष।
 |  बिहीबार, असार २१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असार २१, २०८०

vianetvianet

काठमाडौं–नेपालमा प्रधानमन्त्री बन्न दिल्ली जानुपर्ने अभिव्यक्ति दिएर विवादमा तानिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बचाउमा उनको सचिवालयले विज्ञप्ति निकालेको छ।

प्रधानमन्त्रीको सचिवालयले पिीतम सिंहबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई अपव्याख्या गरेर त्यसकै आडमा राजनीतिक अभीष्ट पूरा गर्न खोजिएकामा गम्भीर ध्यानाकर्षण भएको बताएको हो।

बिहीबार प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले विज्ञप्ति जारी गर्दै जनयुद्धबाट शान्ति प्रक्रियामा प्रवेशलगत्तै प्रधानमन्त्री प्रचण्डसँग सरदार प्रितम सिंहको भेटघाट र चिनजान भएको पनि प्रस्ट पारेका छन्।

‘प्रचण्डकी जेठी छोरी ज्ञानु दाहाल क्यान्सर रोगबाट संक्रमित भएपछि २०६७/६८ मा सिंहको दिल्लीस्थित घरमा बसेरै उहाँको उपचार प्रक्रिया अगाडि बढेको र छोरीको उपचारका क्रममा उहाँको भारतमा आउजाउ हुने गरेको थियो’, विज्ञप्तिमा भनिएको छ, ‘सोही क्रममा सिंहका नातिसँग प्रधानमन्त्री प्रचण्डका सुपुत्र प्रकाश दाहालको सम्बन्ध घनिष्ट बनेको र उहाँहरूको सम्बन्ध औपचारिक मात्र नभएर भावनात्मक एवं पारिवारिकसमेत हुँदै गएको थियो।’

नेपाललाई नयाँ युगतर्फ लैजान प्रचण्डकै राजनीतिक नेतृत्व आवश्यक रहेको बताउने नेपालका शुभेच्छुक सिंहले अनौपचारिक भेटघाटका क्रममा प्रचण्डसँग ‘तपाईंजस्तो योग्य मान्छे फेरि देशको प्रधानमन्त्री हुनुपर्छ’ भन्ने सदाशयता व्यक्त गर्ने गरेको पनि सचिवालयले जनाएको छ। सोही सन्दर्भमा गत १८ असारमा पुस्तक लोकार्पणको क्रममा प्रधानमन्त्रीले प्रसंगवश उल्लेख गरेको सचिवालयले प्रस्ट पारेको छ।

Metro Mart

‘यसै क्रममा सिंह दिल्लीस्थित आफ्नै घरमा पटक–पटक आउजाउ गर्दा भएका पारिवारिक संवादमा सिंहले व्यक्त गरेका विषयसमेत प्रधानमन्त्रीले कार्यक्रममा स्मरण गर्नुभएको हो। तर सम्बन्धको गहिराइलाई व्यक्त गर्न गरिएको भावनात्मक अभिव्यक्तिलाई बंग्याएर अतिशयोक्तिपूर्ण राजनीतिकरण गर्नु आफैंमा निरर्थक र दुःखद छ’, सचिवालयले भनेको छ। 

जनताको मतले निर्वाचित प्रधानमन्त्री प्रचण्ड सदैव संघीय संसद्प्रति जवाफदेही रहेको भन्दै संसद्मा प्रस्टीकरणको मौकासमेत नदिई उहाँको भनाइको आशय विपरीत एकपक्षीय ढंगले प्रचार प्रसार गरिनु दुर्भाग्यपूर्ण रहेको सचिवालयले भनेको छ। 

‘दलगत राजनीति र लोकतान्त्रिक प्रणालीप्रति नै वितृष्णा सिर्जना गर्न विभिन्न कोणबाट भइरहेको हमलाविरुद्ध लोकतन्त्रको रक्षा र सुशासन प्रत्याभूतिका लागि सरकारले चालेका कामबाट ‘केही हुँदैन’ भन्ने निराशावादी मनोविज्ञानको ठाउँमा ‘गरे हुने रहेछ’ भन्ने आशलाग्दो वातावरण सिर्जना भइरहेका बेला प्रधानमन्त्रीको राजीनामा मागिनु भ्रष्टाचार र जनताका पक्षमा सञ्चालित अभियान रोक्ने मनसाय रहेको कुरा स्पष्ट नै छ’, विज्ञप्तिमा भनिएको छ। 

‘पुस्तक विमोचनको प्रसंगलाई लिएर प्रमुख प्रतिपक्षी दलले नियोजित रूपमा संसद् अवरोध गर्दा मिटरब्याजीलाई कारबाही गर्न ल्याइएको विधेयक संसदबाट पारित नभई निष्क्रिय भएको छ, जसबाट मिटरब्याज पीडित लाखौँ नेपाली किसानको न्याय प्राप्तिको अपेक्षामा गम्भीर आघात पुगेको छ’, सचिवालयले यसप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित किसानको न्यायको पक्षमा आवश्यक पहल लिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रचण्डको सचिवालयले संकुुचित राजनीतिक मानसिकताका साथ प्रधानमन्त्रीको राजीनामा मागेर संसद् अवरुद्ध गर्नु सुशासन, समृद्धि र सामाजिक न्यायका पक्षमा सरकारले चालेका कदमको विरोध र सिंगो संसद्को नै अपमान हुन जाने तथ्यलाई हेक्का राख्नुपर्ने स्मरण गराएको छ।

‘तसर्थ, यस्ता कुनै पनि प्रकारका भ्रमबाट मुक्त रहन तथा सरकारको सुशासन अभियानमा ऐक्यबद्धता व्यक्त गर्न हामी सम्पूर्णमा हार्दिक अपिल गर्दछौं’, प्रेस सल्लाहकार आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: Jul 06, 2023| 14:27 बिहीबार, असार २१, २०८०
प्रतिक्रिया दिनुहोस्