आइतबार, साउन २४, २०८३

मादीमा पहिरोले दुई घरपरिवार विस्थापित

विस्थापित घरपरिवार आफन्त तथा समाजघरमा आश्रय लिन बाध्य। 
 |  बिहीबार, असार २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार २१, २०८०

गण्डकी–कास्कीको मादी गाउँपालिकामा अविरल वर्षापछिको पहिरोले दुई घरपरिवार पूर्णरुपमा विस्थापित भएका छन् भने चार घर जोखिममा परेका छन्। मादीको वडा–६ का पाँच र वडा–२ मा एक परिवार पहिरोको जोखिममा परेको गाउँपालिकाले बताएको छ।

१९ असारको अविरल वर्षाले मादी–६ को काहुँखोला–दूधपोखरी सडकको दोस्रो खण्डमा सजुक भेडीखर्क टोलको भेडीखर्क चोकमा पाँच परिवारको ६ घर पहिरोको जोखिम परेको थियो।

अविरल वर्षापछि घरसँगैको सडक पहिराले लैजाँदा स्थानीय कमलापति बरालको दुई घर र दीपक बरालको एक घर एक गोठमा क्षति पुगेको छ। यी दुवै परिवार विस्थापित भएर आफन्त तथा समाजघरमा आश्रय लिएको सोही वडाका वडाध्यक्ष डिलबहादुर क्षेत्रीले बताए। 

त्यसैगरी स्थानीय शमसेर पाण्डेको एक घर, भगवानसिंह गुरुङको एक घर एक गोठ र विष्णुमाया घर्तीको एक घर र एक गोठ जोखिममा परेको वडाध्यक्ष क्षेत्रीले घर जोखिममा परेकालाई उचित व्यवस्थापनका लागि गाउँपालिकामा सिफारिस गरिएको जानकारी दिए।

वडाध्यक्ष क्षेत्रीले भने, ‘पहिराले विस्थापित परिवारलाई आफन्त तथा समाजघरमा राखिएको छ। प्रभावितको व्यवस्थापनका लागि गाउँपालिकामा सिफारिस गरेका छौं।’ 

गाउँपालिका अध्यक्ष देवीजंग गुरुङले पहिरालेपीडित परिवारलाई गाउँपालिकाबाट राहत प्रदान गरिने बताए। विस्थापितलाई वैकल्पिक बसोबासका लागि पहल भइरहेको उनको भनाइ छ। 

अध्यक्ष गुरुङले भने, ‘विस्थापित परिवारलाई पालिकाबाट राहत दिन्छौं। प्रदेश तथा संघीय सरकारसँग समेत समन्वय गरी एकै दिन एउटै कार्यक्रम गरेर नियमानुसार उचित राहत प्रदान गर्नेछौँ।’ अविरल वर्षा तथा पहिराका कारण मादीका अन्य वडामा समेत क्षति पुगेको बताइन्छ। विशेषगरी ग्रामीण सडकमा पहिरोले क्षति पुगेको छ।–रासस

प्रकाशित: Jul 06, 2023| 14:11 बिहीबार, असार २१, २०८०
प्रतिक्रिया दिनुहोस्