काठमाडौं– सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट व्यक्त विवादास्पद अभिव्यक्तिको बचाउ गर्दै विरोध गर्ने प्रतिपक्षी दल असंसदीय भएको आरोप लगाएको छ।
बैठकले नेपालको प्रधानमन्त्री बन्न दिल्ली दौडिनुपर्ने विवादास्पद अभिव्यक्ति दिएका प्रधानमन्त्रीको राजीनामा माग्ने एमालेको निर्णय असंसदीय भएको दाबी गरेको हो।
संसद् अवरुद्ध गरेर एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा मागे पनि त्यसलाई बैठकले खारेज गरिदिएको नेकपा एसका नेता राजेन्द्र पाण्डेले बताए।
उनले भने, ‘हामीले प्रधानमन्त्रीलाई राजीनामा नदिन भनेका छौं। प्रधानमन्त्रीले संसद्मा ‘फेस’ गर्नुहुन्छ। प्रतिपक्षीले भन्दैमा राजीनामा दिने कुरै हुँदैन। प्रधानमन्त्री प्रचण्डबाट व्यक्त विवादास्पद अभिव्यक्तिबारे भने उनले केही बताएनन्।
सरदार प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा गत सोमबार प्रचण्डले नेपालमा प्रधानमन्त्री हुन भारत जानुपर्ने आशयसहितको धारणा व्यक्त गरेपछि प्रधानमन्त्रीको राजीनामा माग्दै प्रतिपक्षी दलले बुधबार प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठक अवरुद्ध गरेका थिए।
बालुवाटार बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डे, नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता चौधरी, लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमतका अध्यक्ष सीके राउतलगायतका नेता सहभागी थिए।