काठमाडौं– सानेपास्थित पार्टी मुख्यालयमा कांग्रेस जिल्ला सभापतिहरूको बैठक बस्दै छ। बैठकमा कांग्रेसका ७७ वटै जिल्ला सभापतिले भौतिक एवं भर्चुअल रुपमा सहभागिता जनाउनेछन। बैठक दिउँसो १२ बजे बस्ने बताइएको छ।
महामन्त्री गगन थापाले कांग्रेस ७७ वटै जिल्ला सभापतिलाई छलफलका लागि काठमाडौं आउन निम्तो गरेपछि बैठक बस्न लागेको हो।
बैठकमा सहभागी जिल्ला सभापतिलाई आ–आफ्ना जिल्लाअन्तर्गतका प्रतिनिधि सभा, प्रदेशसभा क्षेत्रीय कार्यसमिति, गाउँ, नगरपालिका र वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यको नामावली र सम्पर्क नम्बरसहित उपस्थित हुन भनिएको छ।
बैठकमा सहभागी जिल्ला सभापतिले वडा तहदेखि जिल्ला सम्मेलन भए÷नभएको विवरण र आगामी योजनासहितका कार्यक्रमबारे जानकारी दिनेछन्।मुख्यालयमा कांग्रेस जिल्ला सभापति सहभागी हुन नसके उपसभापति उपस्थित हुने, भौतिक रूपमा सहभागिता जनाउन नसके जुममार्फत छलफलमा सहभागी हुन सक्ने व्यवस्था छ।
दुई दिनसम्म चल्ने बैठकमा पार्टी सदस्यता वितरण, नवीकरण र पार्टी सञ्चालन विधिबारे छलफल हुने महामन्त्री थापाले जानकारी दिए। बैठकमा जिल्ला सभापतिले क्रियाशील सदस्यको जिल्लागत अवस्था जानकारी गराएपछि तीन वटा एजेन्डामाथि छलफल हुने उनको भनाइ छ।
क्रियाशील सदस्यता र कांग्रेस सदस्यताको वितरण, नवीकरण र अभिलेखीकरण, विधानबमोजिम गर्नुपर्ने पार्टीका विभिन्न तहका सम्मेलन र पार्टी सञ्चालन तथा व्यवस्थापनलगायत अन्य विविध सांगठनिक विषयमाथि छलफल हुने बताइएको छ।