काठमाडौं- बालुवाटारमा सत्तारुढ सात दलको बैठक जारी छ। केही बेरअघि सुरू भएको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल सहभागी छन्।
त्यस्तै जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी पनि बैठकमा सहभागी छन्। कांग्रेस उपसभापति तथा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे माओवादी केन्द्रका महासचिव देव गुरूङ र प्रमुख सचेतक हितराज पाण्डे पनि बैठकमा छन्।
कोशी प्रदेशमा सत्ता गठबन्धनले सरकार बनाउने तयारी गरिरहेको छ। त्यहाँ सरकार गठनका लागि आह्वान भएको पाँच दिनको समयसीमा आज सकिँदैछ। कोशीमा सत्ता गठबन्धनले कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।
त्यस्तै आजको बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले गरेको अवरोधको बारेमा पनि छलफल हुने बताइएको छ।