बुधबार, साउन २८, २०८२

सत्तारुढ सांसदले पनि गरे प्रधानमन्त्रीको अभिव्यक्तिको आलोचना

 |  बुधबार, असार २०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असार २०, २०८०

vianetvianet

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर सत्ता साझेदार दलबाटै विरोध सुरु भएको छ। आफूलाई प्रधानमन्त्री बनाउन नेपालमा व्यापार गर्ने भारतीय नागरिक प्रितम सिंह पटक पटक दिल्ली गएको भन्ने प्रचण्डको अभिव्यक्तिबारे आज कांग्रेसका नेताहरुले मुख खोलेका हुन्। 

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री दाहालले दिएको विवादास्पद अभिव्यक्ति आलोचनायोग्य रहेको टिप्पणी गरेका छन्। उनले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेपाली कांग्रेसको प्रष्ट रुपमा विमति रहेको बताए।

प्रधानमन्त्रीको अभिव्यक्तिको विषयलाई लिएर विपक्षी दलहरूले बुधबार संघीय संसद्का दुवै सदन अवरुद्ध पारेपछि संसद् भवनबाट बाहिरिने क्रममा महामन्त्री शर्माले प्रधानमन्त्री दाहालको अभिव्यक्ति आलोचनायोग्य भएको बताए। उनले भने, 'प्रधानमन्त्रीले हिजो जे बोल्नुभयो, म सत्ता पक्षको एउटा सांसद भए पनि त्यसमा समर्थन जनाउनुपर्छ भन्ने हुँदैन। उहाँले दिएको अभिव्यक्ति आलोचनाका लागि योग्य छ। उहाँले गलत बोल्नुभएको छ। त्यसमा मेरो प्रष्ट रुपमा विमति नै छ,’ उनले भने।

उनले नेपालको प्रधानमन्त्री नेपालको संसद्प्रति उत्तरदायी हुनुपर्ने र नेपालको राष्ट्रिय सम्मानलाई अभिवृद्धि गर्न सक्नुपर्ने बताए। ‘पुष्पकमल दाहाल अहिले तेस्रोपटक प्रधानमन्त्री हुनुहुन्छ। उहाँ प्रधानमन्त्री त संसद्बाटै हुनुभएको हो। तर पहिलो र तेस्रो पटक उहाँ प्रधानमन्त्री हुँदा नेकपा एमालेकै समर्थन थियो। तीनपटक मध्ये दुई पटक उहाँ एमालेकै समर्थनमा प्रधानमन्त्री हुनुभएको हो। त्यसैले प्रधानमन्त्रीले पनि संसद्प्रति राख्ने सम्मान भुल्नु हुँदैन। नेपालको संसदीय परिपाटी, संसद्को गरिमालाई वृद्धि गर्ने कुरा, राष्ट्रिय सम्मानलाई अभिवृद्धि गर्ने कुरामा प्रधानमन्त्रीको ध्यान हुनुपर्छ,’ शर्माले भने।

कांग्रेस केन्द्रीय सदस्य उदयशमशेर राणाले प्रधानमन्त्रीको अभिव्यक्ति बोल्न मिल्ने खालको नभएको टिप्पणी गरेका छन्। संसद् भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै सांसद राणाले प्रधानमन्त्री दाहालले संसद्‍मा चाँडोभन्दा चाँडो स्पष्टीकरण दिनुपर्ने माग गरे। राणाले भने, ‘हाम्रो यस सन्दर्भमा अफिसियल धारणाचाहिँ छैन। उहाँले त्यो बोल्न नहुने हो। के सोचमा उहाँले बोल्नु भयो। अथवा के ब्याकग्राउण्डमा उहाँले त्यो बोल्नु भयो त्यो स्पष्ट पार्नुपर्छ उहाँले हाउसमा गएर।’

Metro Mart

प्रकाशित: Jul 05, 2023| 19:28 बुधबार, असार २०, २०८०
प्रतिक्रिया दिनुहोस्