काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधका कारण राष्ट्रियसभा बैठक भोलि बिहीबारसम्मका लागि स्थगित भएको छ।
आज अपराह्न २:३१ मा बैठक प्रारम्भ हुनेबित्तिकै एमाले सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह दिल्ली धाएको’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बैठक अवरोध गरेका थिए।
एमाले सांसदको अवरोधपछि बैठक अपराह्न ३:०१ मा बस्ने गरी स्थगित भएको थियो। निर्धारित समयमा बैठक बस्न नसकेपछि संसद् सचिवालयले पुनः ४:४६ मा बैठक बस्ने सूचना जारी गरेको थियो। तोकिएको समयमा बैठक बस्न नसकेपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बिहीबार दिउँसो १:०१ बस्ने गरी निर्धारण गरेको सचिवालयले जनाएको छ।