काठमाडौं- विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक आधा घन्टा स्थगित भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को असार १८ गतेको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरूले विरोध जनाएका थिए।
बैठक सुरु हुनेबित्तिकै नेकपा एमालेका सांसद रघुजी पन्तले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह धेरैपटक दिल्ली गएको भन्ने प्रचण्डको अभिव्यक्तिले देशको सार्वभौमिकतामा आघात पुर्याएकाले राजीनामा दिनुपर्ने माग गरे। ‘आज बादल लागेको छ। तर, अहिले मौसममात्रै उदास छैन, नेपालीहरूको मनमा बादल लागेको छ। सम्मानीय प्रधानमन्त्री पनि नभनुँ कि जस्तो लाग्छ। नागरिकको भावनामा ठेस लागेको छ। सरदार प्रितम सिंहको किताब विमोचनमा दिनुभएको अभिव्यक्तिले हाम्रो स्वाभिमानमा ठेस लागेको छ। नेपालको प्रधानमन्त्री बनाउन नेपालतिर जाने कि, दिल्लीतिर जाने?’ पन्तले भने।
सांसद पन्तले लेन्डुप दोर्जेको नेपाली संस्करण नचाहिने भन्दै स्वाभिमानको रक्षा हुनुपर्नेमा जोड दिए। त्यसपछि विपक्षी दलका सबै सांसदहरूले उठेका थिए। अवरोधकै बीच बैठक अघि बढाउन खोजेका सभामुख देवराज घिमिरेले बैठक आधा घन्टा स्थगित भएको जानकारी दिएका छन्। अपराह्न ३ बजेका लागि बोलाइएको बैठक आधा घण्टा ढिलो गरी सुरु भएको थियो।