काठमाडौं- नेकपा (एमाले)का सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै राष्ट्रियसभाको बैठक अवरुद्ध गरेका छन्। एमाले सांसदले बैठक अघि बढाउन नदिएपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमाले सांसद देवेन्द्र दाहाललाई बोल्न समय दिएका थिए।
दाहालले प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुपर्ने बताए। 'प्रधानमन्त्रीको अभिव्यक्तिले लज्जित भएका छौं। हाम्रो दलले यसलाई गम्भीर रुपमा लिएको छ, भारतले बनाएको प्रधानमन्त्री ग्राह्य छैन, स्वीकार्य छैन।' प्रधानमन्त्री दाहालले तत्काल राजीनामा दिनुपर्ने एमालेको अडान रहेको उनले बताए। 'दिल्लीको इशारामा प्रधानमन्त्री बन्नुभएको हो भने स्वीकार्य छैन। तुरुन्तै राजीनामा दिनुपर्छ। प्रधानमन्त्रीले राजीनामा नदिएसम्म बैठक अवरुद्ध गर्छौं।'
त्यसपछि राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरेका छन्।
मंगलबार प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रममा व्यवसायी प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउनका लागि पटक-पटक दिल्ली गएको अभिव्यक्ति दिएका थिए।
नेपालमा पहिलो पटक ट्रक ल्याएका सरदार समुदायका प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली : द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा दाहालले विवादास्पद अभिव्यक्ति दिएका थिए। ‘उहाँ (सिंह) ले एक पटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो। धेरैचोटि दिल्ली जानु पनि भयो। काठमाडौंमा नेताहरू–साथीहरूसँग लगातार छलफल गर्नुभयो,’ दाहालको भनाइ थियो।
प्रधानमन्त्री प्रचण्डले भने आफूले पुस्तकमा भएको कुरा कार्यक्रममा बताएको भन्दै आफ्नो बचाउ गरेका छन्।