काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ। १२ असारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलले भारतमा गराएको उपचारको खर्च बेहोर्ने निर्णय गरेको हो।
राष्ट्रपति पौडेलले भारतमा उपचार गर्न जाँदा र आउँदा लागेको हवाई भाडा, अस्पतालको खर्च र सुरक्षाकर्मीहरुको दैनिक भ्रमणभत्ता लगायतमा ५५ लाख २ हजार २ सय ७९ रुपैयाँ बेहोर्ने निर्णय भएको छ।
राष्ट्रपतिको उपचारमा सरकारी कोषबाट खर्च भएको भनेर आलोचना भएपछि राष्ट्रपति पौडेलले भारतमा उपचारका क्रममा लागेको खर्च सरकारबाट नलिने चाहना आफ्नो रहेको प्रष्टीकरण दिएका थिए। अहिले भने सरकारले नै उक्त रकम तिर्ने निर्णय भएको छ।