काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक १० महिना बितिसक्दा पनि बस्न सकेको छैन। यसअघि २७ असारदेखि २ साउनसम्म बैठक बसेको थियो भने पछिल्लो पटक ५ भदौमा प्रदीप गिरीको निधनप्रति शोक प्रस्ताव पारित गर्न केन्द्रीय कार्यसमिति बैठक बसेको थियो। त्यसयता कांग्रेस केन्द्रीय समिति बैठक बस्न सकेको छैन।
पार्टी सभापति शेरबहादुर देउवाले पुस २२ मा आह्वान गरेको केन्द्रीय कार्यसमिति बैठक पुस २८ हुँदै माघ १५ सम्म मिति सारिए पनि त्यसपछि भने अनिश्चितकालका लागि रोकिएको थियो। त्यसपछि सभापति देउवाले २८ वैशाखमा केन्द्रीय समिति बैठक बोलाउने तयारी गरे पनि २७ वैशाखमा पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि बैठक थप अनिश्चित बनेको थियो।
कांग्रेसको विधानअनुसार हरेक दुई महिनामा बस्नुपर्ने केन्द्रीय कार्यसमिति बैठक १० महिनासम्म बस्न नसक्दा पनि पार्टीका पदाधिकारीहरुले पनि कुनै चासो दिएका छैनन्। दैनिक विभिन्न सार्वजनिक मञ्चहरुमा पार्टी नेतृत्वमाथि खनिने गरेका महामन्त्री गगनकुमार थापाले समेत पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाउने विषय भने उठाउन पनि नचाहेको देखिन्छ।
पार्टी महाधिवेशनबाट निर्वाचित सभापति देउवाले राजीनामा दिनुपर्ने बताउँदै आएका थापाले कहिले विशेष महाधिवेशनको माग गर्छन् भने कहिले 'विश्वविद्यालयहरुमा विद्यार्थीहरुलाई राजनीति गर्न दिन नहुने' अभिव्यक्ति दिने गरेका छन्। यद्यपि पार्टीको निर्णय गराउने सर्वोच्च निकाय केन्द्रीय कार्यसमिति बैठक बोलाउने विषयमा भने कुनै चासो दिएको पाइँदैन।
पार्टीमा युवा भनिएका महामन्त्रीहरुले बैठक बोलाउनका लागि सभापति देउवासँग परामर्श गरेर अघि बढ्नुपर्ने भए पनि यसबारे उनीहरुले पनि कुनै छलफल गरेको पाइँदैन। विधि, पद्धति र नेतृत्व क्षमताका विषयमा सार्वजनिक मञ्चहरुबाट घण्टौं भाषण गरेर नथाक्ने महामन्त्रीहरुले महाधिवेशनबाट निर्वाचित भएका केन्द्रीय सदस्यहरुलाई अधिकार सम्पन्न गराउने, निर्णय प्रक्रियामा सहभागी गराउने विषयलाई भने बेवास्ता गर्दै आएका छन्। यसको पछिल्लो उदाहरण भनेकै १० महिनासम्म पार्टीको केन्द्रीय कार्यसमिति बैठक नबस्दा पनि महामन्त्रीहरुले समेत बेवास्ता गर्नु हो।
कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी सभापतिमात्र नभएर महामन्त्रीसहित पदाधिकारीहरुले पनि पार्टीको केन्द्रीय समितिलाई बेवास्ता गरिरहेको बताए। उनले भने, 'पार्टीका महत्वपूर्ण र आफू अनुकुलका निर्णयहरु गराउन पदाधिकारी, पूर्वपदाधिकारी र अलि बढी विरोध हुने स्थिति भएमा केन्द्रीय कार्यसम्पादन बैठक बोलाउने र निर्णय गर्ने गरिएको छ। तर, पार्टीको सर्वोच्च निकाय केन्द्रीय समितिलाई भने पार्टी नेतृत्व, महामन्त्री र पदाधिकारीहरुले नै बेवास्ता गरिरहेका छन्।'
यस्तो परिपाटीले कांग्रेसमा विभिन्न विषयमा हुने बहसको संस्कृति नै हराउने केन्द्रीय सदस्य महरको चिन्ता छ। उनले थपे, 'कांग्रेसमा एक स्वच्छ बहस र छलफलको संस्कृति छ, त्यो हराउने र आफू अनुकूलका निर्णय गर्दै नेतृत्वमाथि नै खनिने परिपाटी विकास भइरहेको छ। केन्द्रीय समिति बैठक नबस्दा पार्टी चलायमान पनि हुन सकेको छैन भने भ्रातृ तथा संगठनहरुलाई चलायमान पनि बनाउन सकिएको छैन।'
कांग्रेसको विधानअनुसार हरेक दुई महिनामा बस्नुपर्ने केन्द्रीय कार्यसमिति बैठक १० महिनासम्म बस्न नसक्दा पनि पार्टीका पदाधिकारीहरुले पनि कुनै चासो दिएका छैनन्।
केन्द्रीय समितिमा सभापति, महामन्त्रीसहितका पदाधिकारीले चासो नदिनुमा उनीहरुको स्वार्थ अनुकूलका निर्णय हुन नसक्ने पनि केन्द्रीय सदस्य महरको तर्क छ। उनले थपे, 'केन्द्रीय समिति ठूलो छ। उक्त समितिमा नेताहरुले ल्याएका प्रस्तावहरु हुबहु पारित हुन सक्ने स्थिति छैन। त्यहाँ त सबै नेताहरुका आ-आफ्ना विचार र धारणाहरु छन्। आफ्नो स्वार्थ अनुकूलका निर्णयहरु पारित हुन नसक्ने भएका कारण पनि सभापतिमात्र नभएर महामन्त्री र अन्य पदाधिकारीहरुले पनि केन्द्रीय समिति बैठक बोलाउन कुनै चासो नदिएको देखिन्छ।'
यसबीचमा कांग्रेस आम निर्वाचनमा होमियो, चुनावमा होमिएको सत्ता गठबन्धन भत्कियो। राष्ट्रपति-उपाराष्ट्रपति, सभामुख निर्वाचन भयो, कांग्रेस सत्तामा सहभागी भयो। कांग्रेसका प्रभावशाली भनिएका नेताहरु नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिए। यीलगायतका थुप्रै मुद्दाहरु भए पनि केन्द्रीय समिति बैठक भने बोलाइएको छैन।
१४ औं महाधिवेशन नेतृत्व मात्रै चयन गरेर सकिएको थियो। नीति महाधिवेशन ६ महिनाभित्र गर्ने भने पनि हालसम्म भएको छैन भने मिति तोक्ने सुरसार पनि छैन। नेताहरू अब बस्ने केन्द्रीय समिति बैठकले नीति अधिवेशनको मिति तय गर्ने बताउँछन्। यद्यपि नेताहरुले भनेको त्यो केन्द्रीय समिति बैठक नै कहिले बस्छ भन्ने अझै कुनै टुंगो लाग्न सकेको छैन।
कांग्रेसले केन्द्रीय समिति बैठक नबोलाउँदा पार्टीले ठूलो नोक्सानी ब्यहोर्नु परेको अर्का केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेही बताउँछन्। उनले भने, 'कांग्रेसलाई जीवन दिनका लागि पनि केन्द्रीय समिति बैठक बोलाउनुपर्ने भए पनि आफू अनुकूलका निर्णय सभापतिले गर्ने गरेको तर केन्द्रीय समिति बैठक बोलाएर छलफल गराउन नचाहेको देखिन्छ। यसले पार्टीलाई थप निस्क्रिय बनाउने काम भइरहेको छ। त्यसकारण नेतृत्वले चाँडोभन्दा चाँडो पार्टीको केन्द्रीय समिति बैठक बोलाउनुपर्छ।'
केन्द्रीय समिति १० महिनासम्म पनि नबोलाएको भन्दै केन्द्रीय सदस्य मधु आचार्यले पार्टी मुख्यालय सानेपामा ध्यानाकर्षण पत्र दर्ता गराएका छन्। सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै आचार्यले लेखेको पत्रमा लामो समयदेखि केन्द्रीय समिति बैठक नबसेको उल्लेख छ। विभाग गठन नभएको, भ्रातृ संस्थाहरूले पूर्णता नपाएको, नीति महाधिवेशन मिति तय नभएको, महासमिति बैठक नबोलाइएको जस्ता विषय उठान गर्दै पत्रमा भनिएको छ, 'केन्द्रीय समिति बैठक यथाशीघ्र बोलाउन अनुरोध गर्दछु।'
यसअघि गत माघमा देउवा पक्षका केन्द्रीय सदस्यहरु नै छलफलमा जुटेर बैठकको माग गरेका थिए। केन्द्रीय सदस्यद्वय नैनसिंह महर र मीन विश्वकर्माको अगुवाइमा उक्त छलफल भएपछि बैठक बोलाउने पनि बताइएको थियो। तर, पछि भने माघ १५ का लागि बोलाइएको बैठक नै अनिश्चितकालका लागि स्थगित गरिएपछि नयाँ मिति तय गरिएको छैन।
१० महिनासम्म केन्द्रीय समिति बैठक नबोलाएको कांग्रेसले यही असार २१ गतेदेखि जिल्ला सभापतिहरुको भेला बोलाएको छ। कांग्रेसका कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले भने, 'नयाँ सदस्यता वितरण र क्रियाशील सदस्यता नवीकरणका लागि अन्तरक्रिया-छलफल गर्न भेला डाकिएको हो।'